धनगढी, २० जेठ / दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीले ७ दिने निशुल्क उद्घोषण तालिम सुरु गरेको छ। आज कैलाली बहुमुखी क्याम्पसको सभाहलमा क्याम्पस प्रमुख तोयाराज भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरेको हो ।
दशरथ चन्द बैतडी विद्यार्थी समाजले आयोजना गरेको ७ दिने निशुल्क उद्घोषण तालिममा ४० जना भन्दा बढी विद्यार्थीहरूको उपस्थिति रहेको थियो। तालिममा कैलाली बहुमुखी क्याम्पस, ऐश्वर्य बहुमुखी क्याम्पस , लगायत अन्य स्कुलका विद्यार्थीहरुको समेत सहभागिता रहेको आयोजकले जनाएको छ।
दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीले विगतदेखि विद्यार्थीहरूको हक हित र नेतृत्व विकासका लागि काम गर्दै आएको सोही अनुसार यस पटक पनि तालिम संचालन गरेको समाजकी अध्यक्ष सरस्वती महराले बताइन्।
उद्घाटन कार्यक्रममा क्याम्पस प्रमुख तोयाराज भट्ट, समाजका निवर्तमान अध्यक्ष चेतन विक्रम चन्द, सदस्य चेतराज भट्ट, कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति एवं समाजका पुर्व महासचिव सन्तोष पन्त, स्ववियुका उपसभापति कमल कुमार ऐडी, अन्य सदस्यहरू लगायत समाजका निवर्तमान पदाधिकारीहरु र सहभागीहरुको उपस्थितिमा उद्घाटन गरिएको हो ।
७ दिने निशुल्क उद्घोषण तालिमको प्रशिक्षकमा समाजका पुर्व महासचिव प्रेम विवस चन्द रहेका छन्। सहभागीहरुलाई ७ दिने उद्घोषण तालिम पछि प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन्।