धनगढी, १८जेठ । २५औं विश्व दूध दिवसको अवसरमा धनगढीमा आयोजित कार्यक्रममा दूधको खपत, उत्पादन र दुग्ध व्यवसायसँग सम्बन्धित विविध पक्षमाथि छलफल गरिएको छ। कार्यक्रममा सहभागी विज्ञ तथा सरोकारवालाहरूले दूध र दुग्धजन्य पदार्थको उपभोग बढाउन सचेतना कार्यक्रम आवश्यक रहेको बताएका छन्।
कार्यक्रममा बोल्दै पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायिक परिषद्का सदस्य लालबहादुर बोहराले हालको पुस्ताले दूधभन्दा चिसा पेय पदार्थ रोज्ने प्रवृत्तिलाई चिन्ताजनक रहेको बताए । उनले भने ‘हामी आफ्ना सन्तानलाई कृषिमा लगाउन प्रेरित गरिरहेका छैनौं, बालबालिकाको दूधप्रतिको आकर्षण घटेको छ ।’ उनले दूधको खपत बढाउन विशेष सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।
नेपाल बीउ व्यवसायी संघका प्रदेश अध्यक्ष विष्णुराज बुर्लाकोटीले सरकारले दिने सहुलियत र तालिमहरू पाउन व्यवसाय दर्ता अनिवार्य रहेको बताए। उनले गाईगोठ हराउँदै गएको र गाईपालनमा कमी आएकोप्रति चिन्ता व्यक्त गर्दै भने, “बजारमा दूध खोजिरहेका छौं, तर पशु सडकमा छन्।“
कृषि व्यवसायी संघका प्रतिनिधि लोकबहादुर थापाले सरकारबाट दिइने अनुदान र सहुलियत कृषकले सहजै प्राप्त गर्न नसकेको गुनासो गरे। उनले कृषकप्रति सरकारको दृष्टिकोण व्यवहारिक हुनुपर्नेमा जोड दिए।
प्रदेश सचिव शंकर शाहले दूधले मुलुकको अर्थतन्त्र स्थिर राखेको बताए। उनले दुग्ध व्यवसायसँग जोडिएका विषयहरूको व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको बताए । पशु स्वास्थ्य सेवालाई ‘इमर्जेन्सी’ सेवाको रूपमा विकास गरिने, घाँसखेती कार्यक्रम व्यवस्थापन गरिने र बजारिकरणमा सहयोग गरिने बताए।
कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले दूधको महत्त्व सबैलाई थाहा भए पनि दुग्धजन्य पदार्थको उपभोग बढाउन अझै प्रयास आवश्यक रहेको बताए।
कार्यक्रममा दुग्ध व्यवसायी, कृषक, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले दूध र दुग्धजन्य पदार्थको उत्पादन तथा खपत दुबै बढाउन नीति तथा व्यवहारमा सुधार आवश्यक रहेको बताए ।