डोटी , १७ जेठ / क्रिकेटर लोकेश बम गृहजिल्ला नगदसहित सम्मानित भएका छन् । शुक्रबार डोटीको बोगटान फुड्सिल गाउँपालिकाले क्रिकेट खेलाडी बमलाई सम्मान गरेको हो ।समृद्ध बोगटान अभियानअन्तर्गत गाउँपालिकाले आयोजना गरेको ‘मातृभूमि महोत्सव’ कार्यक्रममा बमलाई नगद एक लाख ११ हजार ११ रुपैयाँसहित सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिए ।
क्रिकेटमार्फत बोगटान फुड्सिल गाउँपालिकालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन बमले महत्त्वपूर्ण भूमिका खेलेकाले प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिएको अध्यक्ष गड्सिलाले बताए ।
सम्मान ग्रहण गर्दै क्रिकेटर बमले पालिकाको मायाले आफू उत्साहित भएको प्रतिक्रिया दिए । डोटीको दुर्गम मानिने बोगटान फुड्सिल गाउँपालिका-२ जन्म घर भएका बमले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
धनगढी क्रिकेट एकेडेमीबाट हुर्किएका लोकेशले नेपालको यू–१९ टोली, घरेलु क्रिकेट हुँदै सिनियरबाट खेलिसकेका छन् ।
