धनगढी, १५ जेठ / यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सवालमा सञ्चारकर्मीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गरिएको छ। एकता नेपालको आयोजनामा बिहीबार धनगढीमा कार्यक्रम गरको हो।
कार्यक्रममा एकता नेपालका कार्यकारी निर्देशक राज चौधरीले समुदायको अवस्था, भोगेका समस्या तथा संवैधानिक अधिकारका विषयमा प्रस्तुति दिएका थिए। उनले अधिकार संविधानमा प्रत्याभूत भए पनि कार्यान्वयनमा समस्या रहेको उल्लेख गर्दै, स्थानीय तथा प्रदेश सरकारहरूबाट लक्षित कार्यक्रम नबन्नु, परिवार र समाजबाट भेदभाव हुनु लगायतका चुनौती रहेको बताए।
चौधरीले सार्वजनिक शौचालयसमेत लैङ्गिकमैत्री नहुँदा समुदायका सदस्यले अप्ठ्यारो भोग्नुपरेको उल्लेख गर्दै, महिला, पुरुष मात्र नभई ‘लैङ्गिकमैत्री शौचालय’ व्यवस्था गर्नुपर्ने माग गरे। साथै, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मुद्दालाई सञ्चारमाध्यममार्फत उठाउन उनले आग्रह गरे।
एकता नेपालकी अध्यक्ष कृत्तिका चौधरीले पनि स्थानीय र प्रदेश सरकारले यो समुदायलाई लक्षित गरी कार्यक्रम ल्याउनु आवश्यक रहेको धारणा राखिन्।
कार्यक्रममा पत्रकारहरूले विविध प्रश्नसहित सक्रिय सहभागिता जनाएका थिए।
