अत्तरिया ,१५ जेठ / कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) डीडीसी सार्न नहुने माग गर्दै अत्तरियामा आधा घण्टा चक्काजाम गरिएको छ । बिहीबार डीडीसी संरक्षण सङ्घर्ष समितिले अत्तरिया धनगढी ६ लेन सडकमा आधा घण्टा चक्काजाम गरेको हो ।
डीडीसी धनगढी सार्ने तयारी गरिएको भन्दै स्थानीयले जेठ ८ गते देखि विरोधका कार्यक्रम गर्दै आएका छन् । सोही अनुसार जेठ ८ गते देखि डीडीसी प्रशासन कार्यालयमा तालाबन्दी गरिएको छ भने जेठ १४ गते देखि डीडीसी कारखानामा पनि दैनिक एक घण्टा तालाबन्दी गरिँदै आएको छ ।
आन्दोलनका कार्यक्रम अन्तरगत बिहीबार डीडीसी कार्यालय अगाडी सडकमा आधा घण्टा चक्काजाम गरिएको सङ्घर्ष समितिले जनाएको छ । सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले डीडीसी अत्तरियामा रोकिने सुनिश्चितता नहुँदा सम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए ।
उनले आन्दोलनका कार्यक्रम जारी रहेपछि डीडीसीको कारखानाको काम भने बन्द नगरिएको बताए । उनले भने ‘डीडीसी कारखानामा साङ्केतिक रूपमा एक घण्टा तालाबन्दी गरिएपछि दूध उत्पादन, प्रशोधनमा कुनै वाधा आउने गरी आन्दोलनका कार्यक्रम गरेका छैनौ ।’