धनगढी, १२ जेठ / कैलालीको धनगढीमा भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट भएको घटनामा नगर प्रहरी निरीक्षकसहित चार जना पक्राउ परेका छन्। शनिबार राति भन्सार कार्यालयभित्रै प्रमुख तिमिल्सिनामाथि आक्रमण गरिएको आरोपमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी, उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्र सिंह धामी र हवल्दार मणीदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)राजकुमार सिंहका अनुसार भन्सार प्रमुखले ‘अभद्र व्यवहार’ शीर्षकमा दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
घटनाबारे सीसीटीभी फुटेजसमेत सार्वजनिक भइसकेको छ, जसमा नगर प्रहरी समूह भन्सार कार्यालय प्रवेश गरी तिमिल्सिनामाथि कुटपिट गरिरहेको देखिन्छ।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
उक्त घटनापछि धनगढी उपमहानगरपालिकाले समेत नगर प्रहरी निरीक्षक धामीसँग २४ घण्टे स्पष्टिकरण मागेको छ र अनुशासन उल्लङ्घनको अभियोगमा कारवाही प्रक्रिया सुरु गरेको छ।