धनगढी, १० जेठ / सव-डिभिजन वन कार्यालय धनगढी, कैलालीको आयोजनामा सव-डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठी गरिएको छ। आगामी वर्षको बजेट आउने तयारीमा रहदाँ वन संरक्षण र प्रवद्र्धनको लागि छलफल सहितको गोष्ठी सञ्चालन गरेको सव-डिभिजन वन कार्यालय धनगढीका प्रमुख तथा बरिष्ठ वन अधिकृत किशोर धामीले बताए ।
धनगढी भित्रका सामुदायिक वनका पदाधिकारीको उपस्थितिमा कार्यक्रम गरिएको हो । योजना तर्जुमा गोष्ठीमा धनगढी भित्रका अधिक सामुदायिक वनबाट उपस्थिति रहेको बरिष्ठ वन अधिकृत धामीले बताए ।
धामीले सुदुरपत्रका संवाददातासँग कुरा गर्दै भने “हामीले हरेक वर्ष बजेट विनियोजन गर्नुभन्दा पहिला समुदाय स्तरका वनबाट योजना संकलन गर्ने र सबै सव-डिभिजनबाट योजना संकलन गर्दै डिभिजन वन कार्यालयबाट माथि पठाउने गरेको बताए । ”
सरकारले आवश्यकता र प्राथमिकतालाई ध्यान दिँदै बजेट विनियोजन गर्ने हुनाले सबै योजनाहरू छनोट नभएतापनि केही महत्त्वपूर्ण योजनाहरूमा बजेट विनियोजन हुने गरेकोमा स्पष्ट पारे।
वरिष्ठ वन अधिकृत धामीले सबैले वन संरक्षणमा विशेष महत्वका साथ लाग्नुपर्नेमा समेत जोड दिए।
योजना तर्जुमा गोष्ठीबाट सहभागीहरुले घेरबार, ताल तलैया संरक्षण, अग्निरेखा निर्माण, सामुदायिक वनको कार्यालय निर्माण, टुहुरा वन्यजन्तु संरक्षण केन्द्र, जडीबुटी प्रशोधन केन्द्र र भ्युटावर निर्माण सम्मका लागि बजेट माग गरेका छन्।