कञ्चनपुर, ९ जेठ / कञ्चनपुरको डिभिजन वन कार्यालयमा कार्यरत वरिष्ठ डिभिजनल वन अधिकृत राम विचारी ठाकुरमाथि भएको अमर्यादित व्यवहारप्रति विभिन्न कर्मचारी संगठनहरूले गम्भीर आपत्ति जनाएका छन्। कर्मचारी संगठनहरुले कार्बाहीको माग गर्दै आज मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
जेठ ८ गते बिहान करिब ११बजेर ४५ मिनेटमा एक अज्ञात व्यक्तिले कार्यालयभित्र अनाधिकृत प्रवेश गरी ठाकुरमाथि कालोमोसो दलेर शारीरिक र मानसिक दुव्र्यवहार गरेको घटनालाई कर्मचारी संगठनहरूले घोर आपत्तिजनक र निन्दनीय भन्दै त्यसको कडा विरोध गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, “कर्तव्य पालनाको सिलसिलामा आफूले तोकेको जिम्मेवारी पूरा गरिरहेका अधिकृतमाथि अमर्यादित, होच्याउने, आत्मसम्मानमा चोट पु¥याउने तथा संस्थागत मर्यादा भत्काउने काम कुनै हालतमा स्वीकार्य छैन।”
विभिन्न संगठनका अध्यक्षहरूको संयुक्त हस्ताक्षर सहित जारी विज्ञप्तिमा दोषीमाथि तुरुन्त कानुनी कारवाहीको माग गरिएको छ। साथै, माग पूरा नभए चरणबद्ध आन्दोलनको चेतावनी पनि दिइएको छ।
विज्ञप्तिमा हस्ताक्षर गर्नेमा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष धर्म बहादुर देउवा, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष बल बहादुर धामी, निजामती ट्रेड युनियन कैलालीका अध्यक्ष बिमल प्रकाश जोशी , एकीकृत सरकारी कर्मचारी संगठन नेपाल सुदूपश्चिमका अध्यक्ष जनक राज जोशी, नेपाल कर्मचारी संगठन सुदूरपश्चिका उपाध्यक्ष वालकृष्ण जोशी र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति , कैलालीकाका अध्यक्ष गंगाराम भारती लगायत संगठनका पदाधिकारीले संयुक्तरुपा बुझाएको बताएका छन् ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कमल बाहादुर शाहले छानबिन गर्न निर्देशन दिइ सकेका कारण दोषीलाई कार्बाही गरिने बताए । कसैले पनि कानुन हातमा लिने काम जघन्य अपराध भएको समेत उनले बताएका छन् ।