यमुना साउद । धनगढी,९ जेठ / चुरे गाउँपालिकामा कार्यरत कर्मचारीबाट इन्धनको व्यापक दुरुपयोग हुने गरेको खुलेको छ । पालिकाका अध्यक्ष चक्र बोगटीका स्वकीय सचिवसमेत रहेका सहायक कम्प्युटर अपरेटर राम सिंह भाटले पालिकाबाट महिनैपिच्छे अत्यधिक मात्रामा पेट्रोल लिएको पाइएको हो।
गाउँपालिकाले आफ्ना प्रत्येक कर्मचारीलाई मासिक १० लिटर पेट्रोल उपलब्ध गराउने कार्यविधि बनाएको छ । तर राम सिंह भाटले भने महिनाको ४४ लिटरसम्म पेट्रोल लिएको तथ्य सार्वजनिक भएको छ । साउनदेखि फागुन महिनासम्म मात्र हेर्दा उनले ८० लिटरको साटो १८५ लिटर पेट्रोल लिएको पाइएको छ ।
सबैभन्दा चासोको विषय के छ भने उनी सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत थिए, जसले फिल्डमा गएर काम गर्नु पर्ने आवश्यकता नै हुँदैन । तर पनि उनले ‘फिल्ड प्रयोजन’को नाममा दोब्बरभन्दा बढी पेट्रोल लिएको देखिएको छ ।
यस विषयमा चुरे गाउँपालिकाका सूचना अधिकारी कालीप्रसाद भट्टसँग बुझ्दा,पालिकाले सबै कर्मचारीलाई मासिक १० लिटर पेट्रोल मात्र दिने कार्यविधि बनाएको बताए । तर सहायक कम्प्युटर अपरेटरको फिल्डमा जानुपर्ने काम के हो ?भन्ने प्रश्नमा भने उनले जवाफ दिन मानेनन्।
यसरी फिल्ड नजाने कर्मचारीले ‘फिल्ड प्रयोजन’ देखाएर अत्यधिक मात्रामा इन्धन लिएको पाईनुले नै इन्धनको दुरुपयोग भए स्पष्ट संकेत हो।