धनगढी, ८ जेठ / शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले प्रधानमन्त्री र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार संघर्ष समितिले कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।
जेठ ४ गतेको प्रतिनिधि सभा बैठकबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक पारित गरेको भन्दै धन्यवाद ज्ञापन सहित ज्ञापन पत्र बुझाइएको संघर्ष समितिले जनाएको छ । समितिले बुझाएको ज्ञापन पत्रमा जनभावनाको कदर गर्दै विधेयक पारित गरिदिएको भन्दै विभिन्न नेताहरूलाई सम्बोधन गरेर धन्यवाद ज्ञापन गरिएको छ ।
त्यसबाहेक सुदूरपश्चिमका जनताको प्रत्यक्ष जीवनस्तर सँग जोडिने रोजगारी, व्यापार/व्यवसाय, पर्यटन तथा आर्थिक एवम् सामाजिक रूपान्तरणमा योगदान पु¥याउने गौरवको योजनाका रूपमा समेत विश्वविद्यालय रहेकाले त्यसका लागि आवश्यक बजेट, जनशक्ति र उपकरणको यथाशीघ्र व्यवस्थापन गरिदिन पनि ज्ञापन पत्र मार्फत माग गरिएको छ ।
संयोजक लोकराज पाण्डेय ९आगो०, सचिव धर्मसिंह कुँवर,सह–संयोजक आनन्द प्रसाद भट्टको हस्ताक्षर रहेको ज्ञापन पत्रमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत हुने मिति नजिकिएको अवस्थामा सो बजेट कार्यक्रममा स्वास्थ्य विज्ञान विश्वविद्यालय र शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको प्रबन्ध मिलाइदिन आग्रह गरिएको छ ।
त्यस्तै स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि ऐनमा व्यवस्था भए बमोजिमका पदाधिकारीहरूको नियुक्तिको प्रक्रिया र आगामी आर्थिक वर्ष भित्रै चिकित्सा शिक्षा ९एमबिबिएस० का लागि सिट सङ्ख्या निर्धारणको प्रक्रिया अगाडि बढाउन पनि ज्ञापन पत्र मार्फत माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहले संघर्ष समिति लगायतको खबरदारी र नेताहरुको पहलले विधेयक जारी भएको बताए । उनले विधेयक पारीत भएपछि अब बजेटको व्यवस्थापन हुनेमा आफु ढुक्क रहेको बताए ।ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बजेटको समय नजिकिएकाले आजै ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालयमा पठाइदिने बताए ।