लवदेव धामी
धनगढी, ७ जेठ / धनगढी उपमहानगरपालिका १२ का रविन्द्र सिंह युवाको लागि एक प्रेरणादायी व्यक्ति हुन । समाजसेवा अथाह सम्पत्ति कमाएर गर्नु पर्छ भन्ने मान्यतालाई चिर्दै उनी समुदायिक वनको अध्यक्ष भएर समाज विकास र समाज सेवामा सदैव तल्लीन छन् ।
सानै देखि समाजिक कार्यका लागि अग्रसर हुने सिंह हाल धनगढी उपमहानगरपालिका १२ जुगेडा गाउँमा पर्ने सिद्धनाथ सामुदायिक वनका अध्यक्ष हुन । आफुमा भएको युवा सोच , क्षमता सामुदायिक वनको विकास सँगै समुदायको विकासमा लगाइ रहेको उनी बताउछन् ।
जुन ठाउँमा बढे, हुर्किए त्यो ठाउँको संरक्षण र प्रवर्धन गर्नु आफ्नो कर्तव्य ठानेर विगत ४ बर्ष देखि वन संरक्षणमा नै लागि रहेको बताए । २०७८ सालमा गठन भएको समितिमा स्थानीयहरुले आफुलाई यसको लागि योग्य ठानेर जिम्मेवारी दिएपछि हाल सम्म उपभोक्ताको आवश्यकता र माग अनुसार काम गर्दै आएको बताउछन् । विगतमा पनि कहिले पदाधिकारी त कहिले एक उपभोक्ता भएर वन संरक्षण र प्रवद्धनको लागि काम गर्दै आएको सिंहले बताए ।
अध्यक्ष सिंह युवा भएकाले पनि होला धेरै कार्य अन्य कुनै सामुदायिक वनले नगरेका पनि गरी रहेका छन् । वनमा भएको आगलागि नियन्त्रण देखि लिएर यावत सबैकामको लागि हरेक बेला तैनाथ हुनु नै उनको एउटा लाकप्रियता हो । समुदायका हरेक उपभोक्तालाई समान वन सम्पदाको उपभोग र संरक्षणमा पनि दत्तचित्त भएर लाग्न प्रोत्साहन गरी रहन्छन् ।
