धनगढी, ६ जेठ / सुदूरपश्चिम प्रदेशमा चट्याङका घटनाबाट पछिल्लो चार वर्षमा ३५ जनाले ज्यान गुमाएका छन् भने १५८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुदूरपश्चिम चट्याङको दीर्घकालीन जोखिममा परेको क्षेत्रमध्ये एक हो।
चट्याङका कारण सुदूरपश्चिमका विभिन्न जिल्लाका परिवारहरू प्रभावित भएका छन्। चट्याङ विशेषगरी बर्खा याममा खुला स्थानमा हुने कामकाजी जनसंख्यालाई असर पार्ने भएकाले किसान, गाईवस्तु चराउने र घाँस दाउरा गर्ने वर्ग बढी प्रभावित हुने देखिएको छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार चैतदेखि असार महिनासम्मको प्रि–मनसुन तथा मनसुन अवधिमा चट्याङका घटना तीव्र हुने गरेका छन्। भौगोलिक अवस्थाको कारण सुदूरपश्चिम जस्तै हिमाल, पहाड र तराई मिश्रित क्षेत्रहरूमा चट्याङको सम्भावना अधिक हुन्छ।
सिग्देलका अनुसार चट्याङलाई रोक्न नसकिने भए पनि ८० प्रतिशतसम्म क्षति न्यूनीकरण सम्भव छ। खुला स्थानमा रहँदा सावधानी अपनाउने, बिहानको समयमा खेत तथा बाह्य काम सक्ने, मेघगर्जनका बेला सुरक्षित स्थानमा बस्नेजस्ता उपाय अपनाउन उनले सुझाव दिएका छन्।
सिग्देल भन्छन्, “चट्याङबाट बच्न भौतिक संरचनामा वैज्ञानिक उपकरण जडान गर्नुका साथै स्थानीय तहमार्फत वडा र टोलस्तरसम्म जनचेतना फैलाउनु अहिलेको आवश्यकता हो।”