लबदेव धामी
धनगढी, ५ जेठ / धनगढी उपमहानगरपालिका १३ का हरिश बोहरा सामुदायिक वन संरक्षण र विकासको लागि उदाहरणीय नाम हो । २०५९ सालमा सामुदायिक वनको परिकल्पना गरेर कैलाली सामुदायिक वनको संस्थापक अध्यक्ष भएका बोहरा निरन्तर आज सम्म आइ पुग्दा तेस्रो कार्यकाल सम्हालि रहेका छन् ।
कैलाली सामुदायिक वनको संस्थापक अध्यक्ष हुँदाको क्षण सम्झेर अध्यक्ष बोहरा भन्छन् १० बर्षे माओवादी जनयुद्धले उग्र रुप लिएको बेला जोखिम मोलेर वनको अध्यक्ष हुनु त्यति सहज थिएन तर पनि आफ्नै वरपरको वन जथाभावी अतिक्रमण हुन थाले पछि संरक्षण गर्नुपर्छ भनेर स्थानीय उपभोक्ताको सहमतिमै कमिटि गठन गरेर लागि परेको बताउछन् ।
वन संरक्षणको लागि काम गर्दै गर्दा रातिको समयमा माओवादी लडाकुहरुले अपहरण गरेको पल अझै पनि ताजै रहेको अध्यक्ष बोहरा बताउछन् । वनको अध्यक्ष भएर सामुदायको विकास गर्नबाट कहिले पनि पछि नहटेको आफ्नो कार्यकालमा विद्यालयलाई निशुल्क डेस्क बेञ्चको लागि काठ उपलब्ध गराएको , जन्ती , मलामीको लागि पनि आज सम्म जसो तसो जोहो गर्दै आएको बोहरा बताउछन् ।
सामुदायिक वन संरक्षण गर्नको लागि अध्यक्ष भएका बोहरालाई समुदायको सुरक्षा झनै आवश्यक लागे पछि प्रहरी चौकी समेत वनको अफिसका लागि निमार्ण गरेको संरचनामा स्थापना गरे । अथक प्रयासले समुदायको हितका लागि प्रहरी चौकी स्थापना गर्दाको तितो पल सम्झिदैै बोहरा समुदायमा प्रहरी राख्ने भन्दै आफुलाई धेरैले असहयोग गरेको बताउछन् ।
यीनै हरिश बोहराले कहिले पदाधिकारी भएर कहिले सचेत उपभोक्ता भएर सामुदायिक वनको संरक्षणमै झण्डै २३ बर्ष बिताए । वि.सं २०५९देखि २०६२ पहिलो कार्यकाल , २०६९ देखि २०७३ सम्म दोस्रो कार्यकाल र २०७९ देखि कैलाली सामुदायिक वनको तेस्रो कार्यकाल निर्वहन गरी रहेका छन् ।