धनगढी,५ जेठ । कैलालीको चुरे गाउँपालिका–२ खैरलाबाट ७० थान सालका काठ बरामद गरिएको छ । चैत ३ गते बरामद गरिएको उक्त काठ हाल चौमला सबडिभिजन वन कार्यालयको जिम्मामा राखिएको छ। तर काठ तस्करीमा संलग्न कसैलाई अझैसम्म कारबाही गरिएको छैन।
काठ उक्त स्थानबाट फेला परेको हो तर कुनै सवारीसाधन वा तस्करीमा प्रयोग भएको प्रमाण नभेटिएकाले कारबाही प्रक्रिया अघि बढाउन कठिन भइरहेको सबडिभिजन वन कार्यालय चौमलाका प्रमुख कृष्ण बोहराले बताए ।
‘जो पाए त्यहीलाई कसरी कारबाही गर्ने? गाडी बरामद छैन, जसको जग्गामा काठ भेटिएको हो, उनी बुढा विदेशमा छन्। घरमा बस्ने महिला एक्लैले त्यत्रो काठ तस्करी गर्न सक्ने अवस्था छैन,’ प्रमुख बोहराले भने।
बरामद काठ अहिले पनि चौमला सबडिभिजन वन कार्यालयमै रहेको छ । वन कार्यालयले अनुसन्धान जारी राखेको जनाएको छ ।