धनगढी,४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले आज नयाँ मन्त्री पाउने भएको छ । डेढ महिनादेखि मन्त्री विहीन रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले मन्त्री पाउने भएको हो । नागरिक उन्मुक्ति पार्टी नाउपाबाट रामेश्वर चौधरी मन्त्री बन्न लागेका हुन् । नाउपाभित्रको आन्तरिक किचलोका बीच प्रदेश सरकारले नयाँ मन्त्री पाउन लागेको हो । मुख्यमन्त्री कमल बहादुर शाहले नाउपा संसदीय दलको पत्रको आधारमा आज उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको नियुक्त हुने जानकारी दिए ।
यसैबीच नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले मन्त्रीको लागि रामेश्वर चौधरीलाई नाउपा संसदीय दलको विधान विपरीत सिफारिस गरेको भन्दै मुख्यमन्त्री र प्रदेश प्रमुखलाई उनको शपथ रोख्नको लागि पत्रचार गरिसकेका छन् । तर उनको विरोधकाबीच रामेश्वरलाई नियुक्ति दिने तयारी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको रहेको छ ।
नाउपाको आन्तरिक विवादले गर्दा नाउपाको भागमा परेको सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको नियुक्ती हालसम्म हुन सकेको छैन । यसअघि नाउपाबाट मन्त्री बनेका लक्ष्मणकिशोर चौधरी गत चैत्र १६ गते पदबाट राजीनामा दिएका थिए ।