धनगढी,३० बैशाख । बाजुराको बुढीगंगा नगरपालिकाले आफ्नो पालिकाको विकासका लागि १५ बुँदे साझा प्रतिबद्धता पत्र जारी गरेको छ । समृद्ध बुढीगंगा निर्माणका लागि तीन दिनसम्म आयोजना गरिएको “समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी” बाट आएका निस्कर्षका आधारमा सोमबार साँझ सो प्रतिबद्धता जारी गरिएको हो ।
“विकास कचहरी” मा बाजुराका प्राय सबै दलका नेता, बाजुराका विभिन्न पालिका प्रमुख, उपप्रमुख, विषय विज्ञ, नागरिक समाज, बुद्धिजीवी, कर्मचारी, सरोकारवाला पक्ष र आम नागरिकहरूको बुढीगंगाको विकासका लागि सुझाव दिएका थिए । सो प्रतिबद्धता पत्रमा राजनीति पालिकाको समृद्धी र विकासका लागि हुनुपर्ने मूल मन्त्रदेखि लिएर शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, वातावरण संरक्षण, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र लैङ्गिक समावेशी करण लगायतका बहुक्षेत्रीय विषयहरू समेटिएको छ ।
बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाले प्रतिबद्धता सार्वजनिक गर्दै राजनीतिक दलहरूले बुढीगंगा नगरपालिकाको विकासमा एकमत रहेर स्रोत व्यवस्थापनमा सक्रिय भूमिका खेल्ने, गुणस्तरीय र प्राविधिक शिक्षाको विस्तार गरी दक्ष जनशक्ति उत्पादनमा जोड, आधुनिक कृषि प्रणाली, पशुपालन र बजार प्रणाली विकास, पाँच वर्षभित्र सबै घरधुरीमा बिजुली र दुई वर्षभित्र धुँवारहित चुलो पुर्याउने योजना समेटिएको छ ।
यस्तै, नदीजन्य र खानीजन्य स्रोतको सदुपयोग र वैज्ञानिक वन व्यवस्थापन, १५ श्य्याको अस्पताल निर्माण सम्पन्न गरेर स्वास्थ्य बीमा र मानसिक स्वास्थ्य कार्यक्रम धार्मिक–ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धन, भवन संहिता कार्यान्वयन, नवनिर्माण संरचना बालमैत्री र भूकम्प प्रतिरोधी, सभाहल, पार्किङ, खेलमैदान, सडक स्तरोन्नती लगायत सार्वजनिक संरचना विस्तार, इन्टरनेट विस्तार, सेवा प्रवाहमा अनलाइन प्रणालीको उपयोग, एक वर्षमा डिजिटल गुनासो सुनुवाइ र पाँच वर्षभित्र एसएमएसमा आधारित सूचना सेवा सुरु गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।
प्रतिबद्धता पत्रमा सामाजिक समावेशीकरण र सशक्तिकरणका लागि कोष स्थापना, सहकारी संस्थाहरूको व्यवस्थापन र नियमन, साना मझौला उद्योग प्रवद्र्धन, सीप विकास केन्द्र विस्तार, स्वच्छता र फोहर मैला व्यवस्थापनलाई सशक्त बनाउँदै पूर्ण सरसफाइयुक्त नगर बनाउने कुरा पनि समेटिएको छ । सो अवसरमा बोल्दै नगर प्रमुख बानियाँले बुढीगंगाको समृद्धि अब भाषणको विषय मात्र होइन, साझा संकल्पको दिशामा अगाडि बढ्न सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
१५ बुँदे प्रतिबद्धतापत्रले बुढीगंगा नगरपालिकालाई समृद्धि र सुशासनतर्फ लैजाने स्पष्ट मार्गचित्र तयार भएको अधिकांश राजनीतिज्ञ र विषय विज्ञले बताएका छन् । बाजुराबाट ०४८ र ०६४ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित पूर्व प्रदेश प्रमुख देवराज जोशीले विकासका लागि सबै दल एक ढिक्का भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
एमालेका स्थायी कमिटी सदस्य तथा संविधान सभाका सदस्य कर्णबहादुर थापाले लोकप्रियताका लागि नभएर आफ्नो सार्मथ्यका आधारमा सबै दललाई साथमा लिएर पालिकाको विकासका लागि लाग्नु पर्ने बताउनुभयो । उहाँले विकास भोली गर्न सकिन्छ तर मस्तिसक विग्रेपछि मानिस समाप्तीको बाटोमा जाने बताउदै विज्ञान र प्रविधिको दुरुपयोग गरेर मानिसको मस्तिस्क विगार्ने काम भइरहेकोले त्यसबाट सचेत बनाउन पनि स्थानीय तहका सरकारको समेत जिम्मेवारी भएको धारणा पनि राख्नुभयो ।
“विकास कचहरी” को उद्घाटन र समापन अघि दलका नेता, विज्ञ र स्थानीयहरुले पालिका जनताको नजिकको सरकार भएकोले आग्रह, पूर्वाग्रहबाट मुक्त भएर काम गर्नुपर्नेमा जोड दिएका थिए । प्रतिनिधि सभा सदस्य भइसकेका जिल्ला विकास समितिका पूर्व सभापति लालबहादुर थापाले पालिकाले कार्यान्वयन पक्षमा ध्यान दिनु पर्ने बताउदै स्थानीय उत्पादन बढाउनु पर्ने र त्यसको विक्रीका लागि बजारको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा प्रदेश सभाका सदस्यहरु नेकपा (एकीकृत समाजवादी) का नरेशबहादुर शाही र नेपाी कांग्रेसका पदमबहादुर शाहीले विकासका संरचना र बजेट सही ढंगले सदुपयोग गर्न जनता अझ जिम्मेवार हुनु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा संविधान सभाका सदस्यहरु पेम्वा भोटे शेर्पा, बसुन्धरा रोकाया, प्रदेश सरकारका पूर्वमन्त्री प्रकाशवहादुर शाह, माओवादीका नेतृ पूर्व प्रदेश सभा सदस्य देवकी मल्ल, अछाम जिल्ला विकास समितिका पूर्व सभापतिकृष्णप्रसाद जैसी, एमालेका जिल्ला अध्यक्ष लालबहादुर ओली, कांग्रेसका पूर्व सभापति मानबहादुर रावल, बुढीगंगा नगरपालिकाका पूर्व मेयर दीपकविक्रम शाहलगायतका दलका नेताहरुले आफूहरु चुनावमा आफ्नो दल जिताउन लागे पनि विकासका मुद्धामा सहयात्रा गरेर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।