यमुना साउद,धनगढी ,१२ बैशाख /कैलालीको चुरे गाउँपालिकाका १ काप्राका किसान कर्ण साउदले बाख्रा पालनबाट लाखौँको कारोबार गरिरहनुभएको छ । काप्रामा बस्ने उहाँले दुई बाख्राबाट सुरू गरेको व्यवसाय अहिले खोर नै भरिभराउ छ । बाख्रा पालनमा रमाएको साउद परिवारले १२ बर्ष देखि बाख्रापालन सुरू गरेको थियो । जिल्ला सदरमुकामबाट टाढा रहेको काप्रामा उहाँले हरेक बर्षमा ३ लाखका बोका बाख्रा र खसी बिक्री गर्दै आउनुभएको छ ।
उहाँले भन्नुभयो ,“बाख्रा पाल्न सुरू गरेको समयमा एउटै बाख्रो र ३/४ पाठा/ पाठी मात्रै थिए । पछि बढ्दै जाँदा दुई वर्षमा दर्जनको हाराहारीमा भए ।” उहाँका अनुसार अहिले बाख्राको जति कारोबार गरे पनि ३६ बाख्राभन्दा तल भने कहिल्यै कम भएका छैनन् । उहाँले बाख्रालाई बाघ, स्यालबाट भने जोगाउन हम्मेहम्मे पर्ने गरेको बताउनुहुन्छ । “बाख्रापालनबाट केही घाटा छैन”, उहाँले भन्नुभयो, “दिनभर चराउँदा पनि पुग्छ, घाँस काट्नुपर्छ भन्ने हुँदैन । बिक्री नहोला भन्ने पनि छैन । दिउँसो गोठालो (चरिचराउन गर्ने व्यक्ति) भए पुग्छ तर, गोठालो बलियो छैन भने एकैपटक धेरै नोक्सान हुन्छ ।”
उहाँसँग बाख्रा मात्रै होइन, अन्य चौपाया पनि छन् । “गाई, गोरु पनि पाल्दै आएका छौँ”, उहाँले भन्नुभयो, “मेरा सम्पत्ति भनेकै यी चौपाया नै हुन् । यिनको रेखदेखमा लागेपछि कतै जान पाइँदैन । रेडियो सुन्नेबाहेक बाहिरी संसार पनि केही थाहा हुँदैन ।” अहिले साउद परिवारलाई खसीबोका तथा बाख्रा विक्रीका लागि बाहिर जानुपर्दैन । कसैलाई चाहिएमा सम्पर्क गरेर गाउँमै पुग्ने गरेको उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “बाख्रा व्यवसायको फाइदा पनि यही हो । बेच्ने पनि गाउँमा यसरी नै हो ।” खसी बोका बिक्रीका लागि अहिलेसम्म दौडधुप गर्नु नपरेको उहाँले बताउनुभयो ।
परिश्रम गरे हरेक कुरा सम्भव हुने बताउने साउद राज्यबाट अनुदान, पशु औषधिजस्ता कुराहरू केही नपाएको गुनासो गर्नुहुन्छ । “राज्यले काम गर्नेलाई सहयोग गर्नुपथ्र्यो”, उहाँ भन्नुहुन्छ, “कामै नगर्नेलाई लाखौँ, करोडौँ रूपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ तर, हामीजस्ता कृषकलाई सामान्य औषधि पनि दिँदैन ।” राज्यबाट केही सहयोग प्राप्त नगरे पनि गाउँमै लोभलाग्दो व्यापार भएपछि निर्धक्क देखिन्छन् उनी । “म यहाँ बसेको २ दशक नाघिसक्यो”, उहाँले भन्नुभयो, “म मात्रै होइन, बुबा, बाजेले पनि यसै ठाउँमा जीवन बिताउनुभएको थियो । पुस्तौँदेखि वस्तुभाउ पाल्दै आउँदा पनि आफूलाई कुनै निकायबाट सहयोग मिलेको छैन ।”
उहाँका अनुसार काम गर्ने इच्छाशक्ति भएका कृषकलाई राज्यले लगानी गर्नुपर्छ । “म त आफैँ पनि गर्न सक्छु, व्यवसायमा मलाई सरकारको कुनै सहयोग नभए पनि केही छैन तर, काम गर्ने इच्छाशक्ति भएका गरिब परिवारलाई राज्यले लगानी गर्ने हो भने त्यसको प्रतिफल पनि राम्रो आउँथ्यो होला ।” उहाँ भन्नुहुन्छ ।
अहिले साउदले बाख्राबाटै वार्षिक रु ३ लाखभन्दा बढी कमाउँदै आउनुभएको छ । “मैले बाख्रा पालेको लामो समय भइसक्यो”, उहाँले भन्नुभयो, “पहिलेको आम्दानी घरखर्च मात्रै हुन्थ्यो, दुई/चार वर्षयता भने बचत पनि भइरहेको छ ।” त्यसै आम्दानीबाट छोराछोरीलाई पढाउँदै आएको उहाँले सुनाउनुभयो ।
कर्ण मात्रै होईनन् , उहाँका दर्जनभन्दा बढी छिमेकी नै बाख्रा पालन गर्नु हुन्छ । यस्तै काप्राका किसान तप बहादुर घर्ती मगर पनि विगत तीन दशकदेखि बाख्रापालन गर्दै आउनुभएको छ । गाउँमै उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै उहाँले बाख्रापालनलाई आत्मनिर्भर व्यवसायका रूपमा स्थापित गर्नुभएको छ।
“शुरुमा मासु खानको लागि चार पाँचवटा बाख्राबाट सुरु गरेको थिएँ, अहिले खोरमा ६० भन्दा बढी बाख्रा र भेडा छन्,“ घर्ती मगरले भन्नुभयो, “परिश्रम गरे गाउँमै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म बनेको छु।“
हाल उहाँको खोरमा ६० भन्दामाथि बाख्रा र भेडा छन्। बाख्रापालनबाट उहाँले वार्षिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ। “खाने, लाउने, छोराछोरीको पढाइ खर्च सबै यही बाख्राले धानेको छ,” उहाँले सुनाउनुभयो। स्थानीय वनसम्पदा, घाँसपात र अनुभवको भरमा उहाँले बाख्रापालनलाई व्यवस्थित बनाउँदै जानुभएको छ। उहाँको मेहनत र सफलताले गर्दा गाउँका अन्य कृषकहरू पनि यस पेशातर्फ आकर्षित हुँदै गएका छन्।