नर्वे, ९ बैशाख/नेपाली कांग्रेस जनसम्पर्क समिति नर्वेको सभापतिमा पारसमणि मिश्र विजयी भएका छन् । आइतबार सम्पन्न जन सम्पर्क समिति नर्वेको पाँचौं अधिवेशनबाट मिश्र सभापतिमा बिजयी भएका हुन् ।
अधिवेशनका क्रममा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा निकटतम प्रतिद्धन्दी शालिकग्राम अर्याललाई ९७ मतको फराकिलो अन्तरले हराउँदै मिश्र बिजयी भए ।निर्वाचन अधिकृत नविन थपलियाका अनुसार मिश्रले मिश्रले २८३ मत ल्याउदा अर्यालले १८६ मत ल्याए ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा पूर्ण शाही सर्वसम्मत निर्वाचित भए । चार उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको थियो ।जसमा गणेश थापा, रमेश घिमिरे, गोविन्द अधिकारी र चक्रविक्रम शाही निर्वाचित भएका छन् । उक्त पदमा सुनिल ढुङ्गाना, इन्द्रकुमार थापा र रोशन अधिकारीले पनि चुनावी प्रतिस्प्रर्धामा भाग लिएका थिए ।
त्यस्तै महामन्त्रीमा सुरेश यादव र रमेश सुवेदी, कोषाध्यक्षमा निर्मला परियार, सहमहामन्त्रीमा विनोद श्रेष्ठ, कृष्णबहादुर खत्री र नरेश बास्कोटा निर्वाचित भएका छन् ।२१ सदस्यीय कार्यसमिति सदस्यमा घनश्याम तिवारी, नविन सापकोटा, नवराज श्रेष्ठ, रमेश शर्मा र शुनिल बास्तोला निर्वाचित भए ।
नेपाली जन सम्पर्क समिति नर्वेका सभापति जितेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं भारतस्थित जनसम्पर्क समिति सभापति बालकृष्ण पाण्डेको प्रमुख अतिथि रहेका थिए ।अधिवेशनपछि निवर्तमान अध्यक्ष शाहीले नव निर्वाचित कार्यसमितिलाई बधाई दिनुका साथै कार्यकालको सफलताको शुभकामना दिए ।नव निर्वाचित सभापति मिश्रले चुनावी प्रतिस्पर्धालाई बिर्सेर सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता गर्दै सबैको साथ र सहयोगको अपेक्षा गरे ।