धनगढी ३ फागुन/सुदूरपश्चिम प्रदेशका चार संसदीय समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन्। प्रदेशसभा सचिवालयका अनुसार सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, र विशेषाधिकार समितिमा एकरएक जनाको मात्रै उम्मेदवारी परेकाले सभापति निर्विरोध चयन भएका हुन्।
सामाजिक विकास समितिको सभापतिमा नेकपा एमालेका धर्मराज पाठक, सार्वजनिक लेखा समितिमा माओवादी केन्द्रका अक्कल रावल, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, र विशेषाधिकार समितिमा नेपाली कांग्रेसकी तुलसी देवकोटा चयन भएका छन्।
गत पुस ११ गते सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच संसदीय समितिको सभापति चयनबारे सहमति भएको थियो। सोही सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, एमालेले सामाजिक विकास समिति, माओवादी केन्द्रले सार्वजनिक लेखा समिति, र कांग्रेसले विशेषाधिकार समिति पाउने तय भएको थियो।
आइतबार बिहान १० देखि ११ बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोधको समय राखिएको छ। त्यसपछि १२ बजे अन्तिम नामावली सार्वजनिक गर्ने र १ बजे समितिको बैठकमार्फत निर्वाचन परिणाम घोषणा गर्ने तालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
यसअघि अन्य संसदीय समितिमा पनि निर्वाचन सम्पन्न भइसकेको थियो। तर, केही सभापति मन्त्री बनेपछि ती समितिहरू ज्येष्ठ सदस्यको भरमा सञ्चालन भइरहेका थिए। विधायन तथा प्रदेश मामिला समितिमा भने देवानसिंह विष्ट सभापति छन्।