धनगढी ९ माघ/धनगढीमा डुबानको समस्या हटाउन ढल निकासका लागि नाली निर्मार्ण सुरु हुने भएको छ । बुधबार कैलालीको धनगढीमा नाली निर्माणको शिलान्यास गरिएको छ। धनगढीको डुबान समस्या समाधानका लागि ६ लेन सडकको सुरुवाती बिन्दू त्रिनगर प्रहरी चौकी अगाडी नाली निर्माण गर्न शिलान्यास गरिएको हो। सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले नाली निर्माणको शिलान्यास गरेका हुन्।
शिलान्यासपछि बोल्दै पूर्व मन्त्री प्रकाश देउवाले संघीय सरकारको वजेटमा नाली निर्माण हुन लागेको बताउनुभयो । ‘चुनावताका भोट माग्न घरदैलोमा जाँदा जनताबाट पानी निकासको व्यवस्था मिलाइदिन अनुरोध आयो’ पूर्व मन्त्री प्रकाश देउवाले भन्नुभयो, ‘स्थानीय र प्रदेश सरकारको वजेटले भ्याउदैन, संघीय सरकारको वजेट आवश्यक छ । त्यसका लागि हामीले संघीय सरकारसंग अनुरोध ग¥यो, आजबाट नाली निर्माणको काम सुरु भयो ।’ देउवाले भन्नुभयो, ‘हाम्रो देशमा तीन तहको सरकार छ । कुनै पनि ठाउँको विकास गर्न र समाजलाई अगाडि बढाउन तीनै तहका जनप्रतिनीधिबिच समन्वय हुनुपर्छ । समन्वय राम्रो भएमा त्यहाँका जनताले सुविधा पाउँछन् र विकास पाउँछन् ।’
पहिलो चरणमा २३ करोड लागतमा २८ सय मिटर नाली निर्माण हुने
धनगढी उपमहानगरपालिका–२ र ३ क्षेत्रको बर्सातको पानी मोहना नदीमा फाल्न ६ लेन सडकमा २ हजार ८१५ मिटर लामो नाली निर्माण गर्न २०८१ असार २० गते सम्झौता भएको थियो। सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीले चौराहदेखि मोहना नदीसम्म दोहोरो २ मिटर गहिरो र २ मिटर चौडा नाली निर्माणका लागि सम्झौता गरेको सात महिनापछि नाली निर्माणको काम सुरु भएको हो।
मोहनापुल–अत्तरिया ६ लेन सडकको पूर्वी क्षेत्रमा एक हजार तीन सय ६५ मिटर र पश्चिम क्षेत्रमा एक हजार चार सय ५० मिटर लामो नाली निर्माणको काम सुरु भएको छ। पूर्वमा ११ करोड २० लाख र पश्चिममा १२ करोडको लागतमा नाली निर्माणका लागि इस्टिमेट भएको थियो। तर, सात करोड ४४ लाख ७९ हजार ८९६ रुपैयाँ ८३ पैसा कबोल अंक राखेको एमबी÷शुभलक्ष्मी÷आदर्श जेभी र ६ करोड पाँच लाख एक हजार ८३२ रुपैयाँ ५२ पैसा कबोल अंक राखेको सनराइज÷चन्द्र विकाश÷मस्टा जेभी, धनगढीसँग नाली निर्माणका लागि सम्झौता गरिएको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका प्रमुख शिखर लामा तामाङ्गले बताए ।
मोहनापुल–अत्तरिया ६ लेन सडकको सर्भिस लेनको बिचबाट बर्सातको पानी मोहनासम्म बग्नका लागि नाली निर्माणको काम थालिएको हो। बस्तीको पानी नालीसम्म ल्याउन विभिन्न ठाउँमा च्याम्बरहरू निर्माण गरिने छ। नाली सफा गर्नका लागिसमेत होलहरूसमेत निर्माण गरिने सहरी विकासले बताएको छ। निर्माण कम्पनीहरूले २०८३ वैशाख १६ गते भित्र काम पूरा गर्नुपर्ने छ। २२ महिनामा निर्माण कम्पनीले २ हजार ८ सय १५ मिटर नाली निर्माणको काम सक्नुपर्ने छ। मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणका क्रममा सडक क्षेत्राधिकार खाली भएकाले समस्या नहुने बताए।
मोहनापुल–अत्तरिया ६ लेन सडकका कारण धनगढीमा डुबान हुँदै आएको भन्दै धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको थियो। धनगढीको डुबान समस्या समाधानका लागि सडकको दुबै तिर नाली निर्माण गरिने भएको हो।
