ललित सिंह
बझाङ १० कार्तिक/ पूर्व युवा खेलकुद तथा संस्कृति राज्य मन्त्री नरेश बहादुर सिंहले गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा नेपाली काङ्ग्रेस तर्फका उम्मेदवारी अभिषेक बहादुर सिंहले पपुलर मत ल्याएको तर केही प्राविधिक त्रुटिका कारण हार बेहोर्नु परेकोमा नेपाली काँग्रेस बझाङ पीडामा रहेको बताएका छन् ।
साथै अहिलेको वर्तमान राजनीति अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा धैर्यताको अभाव भएको बताए । नेपाल प्रेस युनियन बझाङले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै शनिवार बझाङ सदरमुकाम चैनपुरमा पत्रकारहरू सँग कुराकानी गर्दै रास्वपाले सहकारी प्रकरणमा धैर्यता नराखेको बताएका हुन् । सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न बनेको संसदीय समितिले रास्वपाका सभापति तथा पुर्वगृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नता देखाएपछि छानबिनमा सघाउनुको साटो आन्दोलनमा जानु उचित नभएको उनको भनाई थियो ।
सहकारी प्रकरणको विषयमा अदालतलाई सत्य, तथ्य छानबिनका लागि रास्वपाले पनि सघाउनुपर्ने उनको भनाई छ । उनले भने, ‘संसदीय छानबिन समिति गठन भएर प्रतिवेदन बनेको छ । दोषी उम्कन पाउदैैन् । बदलाको भावना राखेर कोही मान्छे जेल जादैन् । कानुनको सबैले सम्मान गर्नुपर्छ तर रास्वपाका धायताको कमी देखिन्छ । रास्वपाले अनुसन्धानमा सघाएर अदालतका निर्णयलाई स्विकार्ने धैर्यता राख्नु पर्छ ।’
सिंहले अबको नेतृत्वले स्थायित्वमा पनि ध्यान दिन जरुरी रहेको बताए ।
‘सरकारमा स्थायित्व नहुँदा राजनीतिक उथलपुथल मात्रै नभएर विकास निर्माणका कामहरू पनि अलपत्र परेकाले नेतृत्वले स्थायित्वमा ध्यान दिनु पर्छ । समानुपातिक प्रणालीले गर्दा देशमा स्थायित्व नभएकाले सरकारमा स्थायित्व नहुँदासम्म राजनीतिमा हलचल भइरहन्छ,’ पूर्व राज्यमन्त्री सिंहले भने ।
देशको आन्तरिक स्रोत कम भएर बाह्य ऋण लिनुपर्ने समस्या भएकाले देशमा भएको जलस्रोत र पर्यटनमा सरकारले जोडिएर देशको आर्थिक अवस्था सुधार गर्नुपर्ने सिंहको सुझाव थियो । गठबन्धन गरेर दलहरू निर्वाचनमा जाने कुराले पार्टीलाई पनि क्षति भएको सिंहको भनाई छ । सिंहले उपनिर्वाचनमा पपुलर मत प्राप्त भएपनि प्राविधिक कारण चुनावमा हार व्यहोर्नु परेकोले यसको प्रभाव पार्टीमा परेको समेत बताए ।
