महेन्द्रनगर ६ कार्तिक/कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले बिहिबार सम्म उम्मेदवारको नाम सिफारिस गर्ने जनाएको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कांग्रेस वडासमितिले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। ३ को क्षेत्रिय समितिलाई उम्मेदवारको नामावली सिफारिस गर्ने भएको हो ।
कांग्रेसका वडा समिति सभापति प्रकाश चन्दले एक दुई दिनभित्र वडा समिति बैठक बसेर उम्मेदवारका नामावली क्षेत्रीय समितिमा सिफारिस गरिने बताए । काँग्रेसमा वडा सभापति चन्द सहित कमलराज चटौत, नगर सचिव राहुल भट्ट, पत्रकार हरिश भट्ट लगायतका व्यक्तिहरु वडा अध्यक्षको उम्मेदवारमा आकांक्षी देखिएका छन ।
उपनिर्वाचनका लागि नेकपा एमालेले भने यसअघि नै उम्मेदवार सिफारिस गरिसकेको छ । एमाले वडा कमिटिले जिल्ला कमिटी सदस्य राजेन्द्र आग्री र पूर्व शिक्षक बहादुर चन्दको नाम नगर कमिटीमा सिफारिस गरेको छ । काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष महेन्द्र खड्काको गत वर्ष निधन भएपछि मंसिर १६ मा उप निर्वाचन हुन लागेको हो । २०७९ को स्थानीय तह निर्वाचनमा काँग्रेसका खड्काको प्यानल निर्वाचित भएको थियो ।