पोखरा ४ कार्तिक/जिल्ला अदालत कास्कीले रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको छ । सूचना अधिकारी सुरज अधिकारीकाअनुसार लामिाछानेमाथि अनुसन्धान गर्न ६ दिनको म्याद दिइएको हो ।
शुक्रबार पक्राउ परेलगत्तै पोखरा लगिएका रविलाई आइतबार म्याद थपका लागि अदालतमा पेस गरिएको थियो। जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
पक्राउ परेको दिन शुक्रबारबाटै गणना गर्ने गरी न्यायाधीश दाहालको इजलासले अनुमति दिएको हो, जसअनुसार अब बुधबारसम्म प्रहरीले हिरासतमा राख्न सक्नेछ।सूर्यदर्शन सहकारी ठगी प्रकरणमै पक्राउ परेका रविका व्यावसायिक साझेदार छविलाल जोशी बन्जाडे पनि कास्की प्रहरीकै हिरासतमा छन्।
रवि पक्राउको विरोधमा रास्वपाका समर्थकहरूले पोखरामा प्रदर्शन जारी राखेका छन्। समर्थक र प्रहरीबीच घम्साघम्सी पनि परेको थियो।प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि पानीका फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो। पोखराको सडकमा समर्थक र प्रहरीको बाक्लो उपस्थिति छ। हिजो शनिबार पनि रास्वपा शीर्ष नेताहरूसहितले पोखरामा प्रदर्शन गरेका थिए।