धनगढी २२ असोज/ कैलालीको अत्तरियामा आयोजना भएको प्रदर्शनी बजार तोडफोड गरिएको छ। मंगलबार उद्घाटनको कार्यक्रम रहेको प्रदर्शनी अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का लगायत समुहले प्रदर्शनी बजारको मुल गेट र केही स्टल तोडफोड गरेको आयोगक सुदूरपश्चिम च्याम्बर अफ कमर्शले जनाएको छ। प्रदर्शनी आज संघीय सरकारका उद्योग वाणीज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो ।
‘यसपालिको दसैँ तिहारमा सुदूरपश्चिमकै लगाउने सुदूरपश्चिमकै खाने’ भन्ने नाराका साथ आज (मंगलवार) देखि सुदूरपश्चिम प्रदेशका उत्पादित वस्तुहरूको विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजार सुरु हुने कार्यक्रम रहको थियो ।
दसैँ तिहारको अवसरमा कैलालीको अत्तरियामा, कैलाली चेम्बर अफ कमर्स, नेपाल चेम्बर आफ कमर्स सुदूरपश्चिम प्रदेश र समृद्ध सुदूरपश्चिम अभियानको आयोजनामा बजार सुरु हुन लागेको हो। तर प्रदेर्शनी बजार सुरु हुनु अगावै मुल गेट र केही स्टलमा तोडफोड गरिएको छ। यस विषयमा आफुलाई कुनै जानकारी नभएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहराले बताए।
अध्यक्ष बोहराले यस्तो बताइरहेका बेला उद्योग वाणिज्य संघकै केही पदाधिकारीले बजार लाग्न नदिने भन्दै तोडफोड गरेको आयोजकको दाबी छ। विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजारको प्रवर्द्धन बजारमा सम्बन्धित निकायबाट अनुमति लिएर यस क्षेत्रमा उत्पादन गरिरहेका जुत्ता, चप्पल, गार्मेन्टका उत्पादन देखि लिएर सुदूरपश्चिमका ९ वटै जिल्लामा उत्पादन हुने परम्परागत सामाग्री, खाद्यान्नका स्टल राखिने आयोजकले जनाइएको छ। स्टलहरु निःशुल्क रूपमा विक्रेतालाई उपलब्ध गराइनेछ। कार्तिक १७ गते सम्म सञ्चालन हुने प्रवद्र्धन बजारमा सुदूरपश्चिमका उत्पादनसँग सम्बन्धित बहस कार्यक्रम आयोजना गरिने जनाइएको छ।