धनगढी, ८ असोज/बालबालिकाले ज्ञान आर्जन गर्ने थलो छाडा चौपायाको बासस्थान बनेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलङ्कामा रहेको नवज्योति आधारभूत विद्यालय छाडा चौपाया बस्ने थलो बनेको हो । विद्यालयमा घेरबार र गेट नहुँदा रातिको समय छाडा चौपाया आएर विद्यालयमा बस्ने गरेका छन् ।
विद्यालयमा छाडा चौपाया बस्न थालेपछि दैनिक कक्षा सञ्चालनमा समस्या आएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र भण्डारीले बताए । राति बसेका छाडा चौपायाको गोबर र मूत्र दैनिक रूपमा सफा गरेर मात्रै विद्यालयमा पठनपाठन सञ्चालन गर्ने गरेको उनको भनाइ छ ।“हाम्रा दुई जना कार्यालय सहयोगीले दैनिक रूपमा छाडा चौपायाको मलमूत्र सफा गर्नु पर्छ,” भण्डारीले भने , “त्यस्तै परे कहिलेकाहीँ विद्यार्थीले पनि सफा गर्छन् । सफा गरेर विद्यालय सञ्चालन गर्ने गरेका छौँ ।”
विद्यालयमा हरेक रात छाडा चौपाया बस्ने गरेको जनाइएको छ । नजिकै रहेको गेटा सामुदायिक वनमा दिनभरि चरेर छाडा चौपाया राति विद्यालयमा आउने गरेको प्रधानाध्यापक भण्डारीले बताए । मान्छेले पनि लखेटेर छाडा चौपायालाई विद्यालयतिरै धपाउने गरेको उहाँको गुनासो छ । पानी परेका बेला लगभग ८०र९० छाडा चौपाया विद्यालयमा बस्ने गरेको भण्डारीले बताए ।
सो विद्यालयमा आधा घेरबार गरिएको छ । तत्कालीन प्रदेश सभा सदस्य डिल्लीराज पन्तले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत तीन वर्ष पाँचरपाँच लाख बजेट दिएपछि आधा घेरबार गरिएको प्रधानाध्यापक भण्डारीले बताए तर आधा घेरबार नभएकाले बनाएको घेरबार पनि काम लागेको छैन । “घेरबार पूरा नहुँदा आधा बनाएको घेरबार पनि काम नलागेकाले सबैतिर घेरबार र एउटा गेट आवश्यक छ,” उनले भने । नवज्योति आधारभूत विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत छन् । छाडा चौपाया व्यवस्थापनको नाममा स्थानीय तहले करोडौँ खर्च गरिसके पनि समस्या अझै समाधान हुन सकेको छैन ।