धनगढी, ६ असोज / नेपाल लोकतान्त्रिक खेलकुद संघ सुदूरपश्चिम प्रदेश र कैलाली जिल्लाको आयोजनामा महिला तथा बालबालिकालाई आत्मरक्षा सम्बन्धी व्यवहारिक तालिम धनगढीमा सञ्चालनमा आएको छ। केआइएफ कुरोदय सेल्फ डिफेन्स मार्सल आर्ट्स संघको सहयोगमा पहिलो पटक उक्त कार्यक्रम ३ दिनको लागि साँझ र बिहानको समयमा सञ्चालन हुने सेल्फ डिफेका प्रमुख प्रशिक्षक तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष सुरेन्द्र सिंह बिष्टले बताए।
सुदूरपश्चिममै पहिलो पटक गरिएको उक्त कार्यक्रममा धनगढी भित्रका विभिन्न विद्यालयका १ सय ४० भन्दा बढी छात्राहरुलाई ३ दिने प्रशिक्षण दिइने छ । ३ दिने प्रशिक्षण बाट उत्कृष्ट ३०लाई छनोट गरेर १ महिने प्रशिक्षण दिइ सुदूरपश्चिमका ९ वटै जिल्लामा प्रशिक्षकको रुपमा खटाइने नेपाल लोकतान्त्रिक खेलकुद संघ कैलालीका अध्यक्ष गोविन्द के.सी.ले धनगढीको निर्माण व्यवसायी संघको सभाहलमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
प्रशिक्षकको रुपमा खटाइनेहरुका लागि उचित सेवा सुविधा पनि रहेको अध्यक्ष के.सी.ले बताए।
दिन दिनै बढ्दै गएको बलात्कार, महिला हत्या , हिंसालाई न्युनिकरण गर्न उक्त कार्यक्रमले सहयोग गर्ने आयोजकको दाबी रहेको छ ।
