यमुना साँउद
धनगढी,६ असोज/ नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा प्रचारप्रशार बिभागका प्रमुख मिन विश्वकर्माले पार्टी सभापति देउवा ‘म्यान आफ द वर्ड’ भएकोले गठबन्धनमा कुनै शंका नगर्न आग्रह गरेका छन् । ‘देउवा जे बोल्नुहुन्छ त्यो उहाँको ढुङ्गाको अक्षर हुन्छ’ त्यसैले कुनैकतैबाट गठबन्धनमा गडबढ हुने छैन उनले भने । उनले नेपाल प्रेस युनियन र्कैलालीले आईतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
अहिलेको समय दुबै ठुला दलले दायाबाया गर्ने कुनै छुट नभएको बताउदै नेता बिश्वकर्माले यो अन्तिम बिकल्प पाएको समेत बताएका छन् । उनले अर्को प्रशंगमा नेपाली कांग्रेस र नेकपा एमाले बीचको गठबन्धन कुनै रहर वा बाध्यताले नभई राष्ट्रिय आवश्यकताका कारण भएको बताएका छन्।
विश्वकर्माले भने “भ्रष्टाचार नियन्त्रण, राजनीतिक स्थिरता, र विधिको शासन जस्ता विषयहरूमा बलियो सरकारको आवश्यकता पर्दछ।” अहिलेको जटिल राजनीतिक परिस्थितिमा राष्ट्रिय हितका लागि सशक्त र स्थिर सरकार अपरिहार्य रहेको उनको भनाइ छ । उनले गठबन्धनको उद्देश्य मुलुकलाई समृद्धि र स्थायित्वतर्फ उन्मुख गराउनु भएको भन्दै, आगामी दिनमा दुवै पार्टीले जनताको अपेक्षालाई पूरा गर्ने ठोस कदम चाल्नेमा विश्वास व्यक्त गरेका छन्।
“वर्तमान चुनौतीहरू सामना गर्न, विशेष गरी सुशासन र विकासका सवालमा अडान लिने सरकार गठन गर्नु अपरिहार्य छ । यो गठबन्धन एक महत्त्वपूर्ण प्रयास हो । ”उनले थपे। नेपाली राजनीतिमा यस गठबन्धनले नयाँ अध्याय सुरू गरेको बताउँदै, उनले आगामी दिनहरूमा दुवै पार्टीबीचको सहकार्यलाई थप सुदृढ गरिने विश्वास व्यक्त गरेका छन् । राज्यले दिने सेवा सुविधामा जनताहरुलाई सरल र सहज रुपमा सेबा सुविधा दिने प्रयत्न गरिरहेको उनले थपे ।
(भिडियो)