धनगढी, २२ भाद्र/एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशको महिला टोलीको लज्जास्पद हार भएको छ । लिलितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा सानदार जित निकालेको छ । आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्नेक्रममा पुलिसले शुक्रवार सुदूरपश्चिम प्रदेशमाथि ९-० को फराकिलो जित हासिल गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा पुलिसलाई जित दिलाउन निरु थापा र दिपा न्यौपानेले ह्याट्रिक पूरा गरे । पुजा राना मगर, अनुष्का शेर्पा र जिमकुमारी गुरुङले समान १ गोल गरे । निरुले आठौं, ६८औं र ७७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यस्तै दिपाले २९औं, ४६औं र ७०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । पुजाले २८औं, ४६औं मिनेटमा जिमकुमारी र इन्ज्युरी समयमा अनुष्काले गोल गर्दै पुलिलको गोलअन्तरलाई फराकिलो पारिन् ।
पहिलो खेलमा नेपाल एपिएफ क्लबसँग बराबरीमा रोकिएको पुलिसले पहिलो जित निकालेको हो । सुदूरपश्चिमले भने लगातार दोस्रो हार बेहोरेको हो । पहिलो खेलमा सुदूरपश्चिम बागमती युथ क्लबसँग पराजित भएको थियो । आजै भएको पहिलो खेलमा संकटा क्लबले चन्द्रपुर नगरपालीकालाई गोलरहित बराबरीमा रोकेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।