यमुना साँउद/धनगढी २० भाद्र/ काठमाडौंमा १६ भदौमा सुरु भएको महिला फुटबल लिगको अन्तिम चरणमा सुदूरपश्चिम टिममा चरम विवाद देखापरेको थियो । सुदूरपश्चिम टिमका खेलाडीहरूले प्रशिक्षक परिवर्तन नगर्नुपर्ने र सबै खेलाडीलाई काठमाडौंको प्रतियोगितामा सहभागी गराउनुपर्ने माग राखे पछि यो विवाद सुरु भएको थियो ।
खेलाडीहरूको माग सम्बोधन नहुँदा, सुदूरपश्चिम टिमले महिला फुटबल लिगमा सहभागिता जनाएनन् । त्यसपछि सुदूरपश्चिम फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले नयाँ टिम गठन गरेर महिला फुटबल लिगमा सुदूरपश्चिमको तर्फबाट सहभागी गराएका थिए। तर, नयाँ टिमको कमजोर प्रदर्शन भयो ।
यस्तै अहिले सुदूरपश्चिम फुटबल संघका कोषाध्यक्ष सन्तोष भट्टले पुराना टिमका केही खेलाडीहरूलाई धम्कीपूर्ण तरिकाले नयाँ टिममा सहभागी हुन दबाब दिएको आरोप लागेको छ। उनले केही खेलाडीलाई (पागल) भन्ने जस्ता अपमानजनक शब्द प्रयोग गरेर मानसिक दबाब सिर्जना गरेको स्रोतले जनाएको छ ।