धनगढी २३ साउन/सुदुरपश्चिम प्रदेशसभाको बिषेश अधिवेशन अन्त्य गरिएको छ । गत साउन ४ गते सबिंधानको धारा १८३ को उप धारा (३) बमोजिम आवह्वान भएको प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको प्रदेशसभा सचिवालयका सुचना अधिकारी युवराज जैशीले जानकारी दिए । प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख नजिर मियाँले आज राती १२ बजेदेखी बिषेश अधिवेशन अन्त्य गरिएको पत्र प्रदेशसभालाई पठाएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयबाट बिषेश अधिवेशन अन्त्य गरिएको पत्र आएकाले अधिवेशन अन्त्य गरिएको सुचना अधिकारी जैशीले बताए । गत असार १ गते सरकारले ल्याएको बजेट फेल भएपछि अध्यादेश मार्फत बजेट ल्याउनका लागी तत्कालिन मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले प्रदेशसभाको चौथो अधिवेशन अन्त्यका लागी प्रदेश प्रमुखकहाँ सिफारिश गरेको थियो । सरकारको सिफारिशका आधारमा प्रदेश प्रमुख नजिर मियाले साउन ३ गते राती १२ बजेदेखी लागु हुनेगरी जारी बजेट अधिवेशन अन्त्य गरेका थिए ।
तर एमाले काग्रेंस लगायतका प्रदेशसभा सदस्यहरुले बिषेश अधिवेशन आवह्वान गर्न प्रदेश प्रमुख मियालाई आग्रह गरेपछि साउन ४ गतेदेखी बिषेश अधिवेशन शुरु भएको थियो । सरकारले ल्याएको बजेट फेल भएपछि साउन यता सुदुरपश्चिम प्रदेशमा बजेट शुन्यता शुरु भएको थियो । जसका कारण आर्थिक गतिबिधि ठप्प थिए । आर्थिक गतिबिधि चलायमान बनाउन अध्यादेश ल्याउनका लागी प्रदेश सरकारले बिषेश अधिवेशन अन्त्य गर्न सिफारिश गरेको हो । चाँडै अध्यादेशबाट पेश्की बजेट ल्याएर आर्थिक गतिबिधि चलायमान बनाउने र १०-१५ दिनभित्रै प्रतिस्थापन बजेट ल्याउने सरकारको तयारी छ ।