धनगढी ,१८ साउन ।आदिवासी रानाथारू समुदायमा सावनको डोलाको रौनक छाएकाे छ । साउन महिना लागेसँगै रानाथारू बस्तीहरूमा डोला राखिएका छन् । सावनको डोलामा मौलिक पहिरनमा सजिएका रानाथारू महिला परम्परागत गीत गाएर पिङ खेल्दै रमाइलो गर्ने गरेका छन् । रानाथारू महिला तिज मनाउने क्रममा साउन महिनाभर ‘सावनको डोला’ खेलेर रमाउँछन् । धनगढी उपमहानगरका ११ घाेड्सुवा रानाथारू बस्तीमा अहिले महिलाहरूको छुट्टै रौनक छाएकाे छ ।
दाजुभाइ र दिदीबहिनीबीचको प्रेम दर्साउन याे पर्वमा दाजुभाइले दिदीबहिनीका लागि डाेला राखिदिने गर्छन् भने दिदीबहिनीहरू दाजुभाइको दीर्घायुको कामना गर्दै तिजमा व्रत बस्ने गरेकाे सुनिता रानाले बताईन्।
दिदीबहिनीका लागि दाजुभाइले डाेला बनाइदिने, माइतबाट बोलाएर ल्याउने र दाजुभाइको दीर्घायुका लागि व्रत बस्ने भएकाले यस पर्वले दाजुभाइ–दिदीबहिनीका बीचमा आपसी प्रेम, स्नेह, सद्भाव बढाउने उनले बताए । उनले भनिन् ‘गाउँभरिका महिलाहरू जम्मा भएर डाेला खेल्दै रमाइलो गर्दै अाफ्नाे माैलीक गीत गाएर मनाउछाै ।’
विवाहित छोरीचेलीलाई दाजुभाइले माइत बोलाएर ल्याउँछन् । यो पर्वले दाजुभाइ र दिदीबहिनीका बीच प्रेम बढाउने रानाथारू समुदायका अगुवाहरू बताउँछन् । यसलाई सामाजिक, सांस्कृतिक महत्व बोकेको पर्वको रूपमा पनि लिने गरेकाे छ ।
राना समुदायकाे सावनकाे डाेलाकाे उद्घाटन गर्दै , अाफ्नाे माैलिक कला संस्कृति ,पहिरनलाई संरक्षण सम्बर्द्धन गरि राख्नु पर्ने धनगढी उपमहानगरपालिका ११का वडा अध्यक्ष रुप बहादुर कुवरले बताए ।