धनगढी १६साउन/सुदूरपश्चिम प्रदेशका ३० पालिकामा शैक्षिक सुधारका लागि गुणस्तरीय सिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम लागु हुने भएको छ । सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीले बुधबार धनगढीमा सरोकारवाला संग सुदूरपश्चिम प्रदेश स्तरीय प्रारम्भिक समन्वयात्मक बैठकमा प्रदेशका ३० पालिकामा यो कार्यक्रम लागु गर्ने जानकारी दिएको हो ।
यो कार्यक्रम प्रदेशका जिल्ला कैलालीका ६, कञ्चनपुरका ४, डोटीका ३, डडेलधुराका २, अछामका ३, बझाङका २, बाजुराका २, बैतडीका ४ र दार्चुलाका ४ पालिकामा शैक्षिक सुधारका कार्यक्रम अन्तरगत विभिन्न गतिविधि गर्ने सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीका कार्यकारी निर्देशक हेमराज जोशीले जानकारी दिए ।
कार्यक्रम अन्तरगत प्रदेशका ३० वटा स्थानीय तहको विद्यालय शिक्षा क्षेत्र योजना निर्माण गरी कार्यान्वयनमा प्राविधिक सहयोग गर्ने, शिक्षा क्षेत्रको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण र कार्यान्वयनमा प्राविधिक सहयोग गर्ने, शिक्षक विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिलाई क्षमता विकासका काम गर्ने र स्थानीय तहको शिक्षा अधिकृतहरूको क्षमता विकास लगायतका गतिविधि सञ्चालन हुने गुणस्तरीय सिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रमका संयोजक हर्क ऐरले जानकारी दिएका छन् । साथै यो कार्यक्रमबाट विद्यालयमा एकीकृत पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा सहजिकरण समेत गर्ने बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश मुख्यसचिव हरि लम्सालले योजना बनाउँदा स्थानीय सरकारले अपनत्व ग्रहण गरी शिक्षासँगै समग्र विषयगत क्षेत्रको योजनालाई आवधिक योजना बनाइनु पर्ने बताएका थिए । सबै तह र सरोकारवालाहरूले कार्यक्रमलाई साथसाथै एकरूपताका साथ अगाडी बढाए मात्रै उपलब्धि हुने मुख्यसचिव लम्सालको भनाई थियो । बैठकमा सामाजिक मन्त्रालयका सचिवचक्रपाणी पाण्डेय, युनिसेफ शैक्षिक विशेषज्ञ जिमी, ईयु शैक्षिक विषय केन्द्रकी अनु, कार्यक्रम अधिकृत याम थापाको उपस्थिति रहेको थियो ।
