धनगढी,४ साउन । यति वेला सुदूरपश्चिम प्रदेशको ग्रामीण भेगका युवाहरू धमाधम भारत पस्न थालेका छन् । बेरोजगार युवाहरू सिजन अनुसारको कामको खोजीमा मजदुरी गर्न भारत पस्न लागेका हुन् ।
प्रदेशका युवाहरु बर्सेनि यो बेला भारत पस्दै आएका छन् । रोपाइँ सकेपछि दसैँसम्मका लागि रोजगारी गर्न उनीहरू भारत जाने गरेका हुन् । अहिले त्रिनगर भन्सार नाका, गड्डाचौकी नाकामा भारत जाने नेपाली युवाको लर्को लाग्ने गरेको छ ।
कैलालीको कैलारी गाउँपालिका–९ का विन्दु चौधरी रोपाइँ सकेर भारतको हिमाचल प्रदेशको सिमलामा स्याउ टिप्ने काममा जाने तयारीमा छन् । “उनी अरुबेला ईंटा बनाउने काम गर्थे र सिजन अनुसारको खेतीपाती गर्छु । ” बेरोजगारीको समयमा भारतमा मजदुरी गर्न जान लागेको उनले बताए ।
कैलालीको गौरीगंगा नगरपालिका–१०, नुक्लीपुरका भागीराम चौधरी पनि स्याउ टिप्ने कामका लागि भारत जाने तयारीमा छन् । उनले भने, ‘रोपाइँपछि यता कामधन्दा केही हुँदैन । रोजगारी पनि छैन । केही कमाउने आसमा सिमला जाने तयारीमा छौँ ।’ आफ्नो गाउँबाट दर्जनौँ युवा कामको खोजीमा भारत जाने तयारीमा रहेको नुक्लिपुर होम स्टेका अध्यक्ष दिनेश दहितले बताए ।
कैलाली र कञ्चनपुरको विभिन्न गाउँबाट अहिले युवाहरू छोटो अवधिको रोजगारीका लागि भारततर्फ जान थालेका हुन् । रोजगारी नपाइने अवस्था भएपछि युवादेखि ६० वर्ष लागिसकेका व्यक्ति पनि मजदुरीका लागि भारत गइरहेका छन् ।
उसो त सुदूरपश्चिमेलीहरू अहिले मात्रै होइन, बर्ष भरि कामको खोजीमा भारत जाने गरेका छन् । यहाँको ७ पहाडी जिल्लाकाका नागरिकहरू स्थानीयस्तरमा भरपर्दो काम नहुँदा भारतमै निर्भर छन् । तर, कति सङ्ख्यामा रोजगारीका लागि भारत जान्छन् भन्ने तथ्याङ्क न स्थानीय तह, न त प्रदेश कसै संग छैन । हालसम्म कुनै पनि निकायले भारतमा काम गर्न जाने मजदुरको तथ्याङ्क राखेको भेटिएको छैन् ।