धनगढी, २१ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा सुदूरपश्चिमका ८५ विद्यालयबाट एक जना विद्यार्थी पनि उत्तीर्ण भएका छैनन् । शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशभरबाट एक हजार १३२ विद्यालय एसईई परीक्षामा सहभागी भएकामा ८५ विद्यालयको नतिजा शून्य आएको हो ।
सबैभन्दा बढी डोटी र बैतडीका १९/१८ विद्यालयको नतिजा शून्य छ । डोटीबाट एक सय विद्यालय परीक्षामा सहभागी रहेकामा १८ र बैतडीबाट एक सय ३२ विद्यालय परीक्षामा सहभागी रहेकामा १८ विद्यालयको नतिजा शून्य आएको हो ।
त्यसैगरी कैलालीबाट २ सय ९७ विद्यालय सईईमा सहभागी रहेकोमा १५, कञ्चनपुरबाट दुई सय विद्यालय सहभागी रहेकोमा ८, डडेलधुराबाट ७० विद्यालय सहभागी भएकामा ८, बाजुराबाट एक सय विद्यालय एसहभागी भएकामा ६, दार्चुलाबाट ७६ विद्यालय परीक्षामा सहभागी भएकामा ७ र अछामबाट ७० विद्यालय सहभागी भएकामा ५ वटा विद्यालयको नतिजा शून्य आएको छ ।
बझाङबाट भने ८६ विद्यालय एसईई परीक्षामा सहभागी भएकामा कुनै पनि विद्यालयको नतिजा शून्य नरहेको शिक्षा विकास निर्देशनालय दीपायलले जनाएको छ । सुदूरपश्चिबाट एसईई दिएका ५३ हजार ४ सय ४६ जनामध्ये १७ हजार ३६ जना ३१.४८ प्रतिशत मात्रै ग्रेडिङमा परेका छन् ।