धनगढी, २० असार/कैलालीको कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिका जलमग्न भएको छ । बाढीले घर डुबाएपछि स्थानीयको बिजोग भएको छ । भजनीका अधिकांश वडा बाढीले जलमग्न भएका छन् ।
बस्तीमा बाढी पसेपछि तीन हजार भन्दा बढी घर डुबानमा परेको नगर प्रमुख केवल चौधरीले जानकारी दिए । घर डुबानमा परेका सर्वसाधारण आफन्तको घर र सुरक्षित स्थानमा आश्रय लिन थालेका छन् । डुबान क्षेत्रका केही परिवार भने ओभानो ठाँउ खोज्दै वनमा समेत पुगेका छन् ।
बाढीले हजारौँ मानिस प्रभावित भएकाले सबैलाई आश्रय दिन समस्या भएको नगरपालिकाले जनाएको छ । भजनीमा वर्षेनी बाढीले दुख दिने गरेको छ । मोहना, पथरैया, कन्द्रा र काढा नदीले भजनी नगरपालिकालाई हरेक वर्षा याममा डुबाउने गरेको हो । बढीले जोशीपुर गाउँपालिका ३ भितरियामा दुई सय घर डुबानमा परेका छन् ।
काडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भितरिया गाउँका एक सय ७० बढी घर डुबानमा परेको स्थानीयले बताएका छन् । बाढीको सतह बढ्दै गएपछि मानिसहरु सडकमा निस्केका छन् ।