धनगढी, ३ जेठ/कैलालीमा पहिलो पटक एमालेका ज्येष्ठ पार्टी सदस्यलाई सम्मान गरिएको छ । ३१ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा एमाले कैलाली जिल्ला कमिटीले २८५ जना पुराना एमालेका नेता कार्यकर्ताहरूलाई सम्मान गरेको हो ।
उनीहरु मध्ये अधिकांश मदन भण्डारी र जीवराज आश्रितसँगै राजनीतिमा होमिएका नेता कार्यकर्ताहरू रहेका थिए ।
एमाले कैलालीका जिल्ला अध्यक्ष यज्ञ ढुङ्गानाले मदन भण्डारी र जीवराज आश्रितका समकालीनलाई सम्मान गरिएको बताउँदै यस्ता काम आगामी दिनमा पनि गरिने बताएका थिए । उनले सबैलाई एक भएर पार्टी बलियो बनाउन पनि आग्रह गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्टले मदन भण्डारी र जीवराज आश्रितका विचार र नीतिलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले पार्टी बलियो बनाउनु आजको पहिलो दाइत्व रहेको बताएका थिए ।
पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेश ठगुन्नाले कैलालीमा पहिलो पटक नयाँ र नौलो शैलीले मदन आश्रित स्मृति दिवस मनाइएको बताए । एमालेको नेता कार्यकर्ताहरूकै कारण पार्टी बलियो र लोकप्रिय रहेको बताएका थिए । आज सम्मानित हुने मदन आश्रितका समकालीनहरूले पार्टीले आफूहरू सम्झिएको भन्दै खुसी व्यक्त गरेका थिए । नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेका तत्कालीन मदन भण्डारीका मित्र कुमार निरौलाले कार्यक्रमबाटै आफू एमालेमा सक्रिय हुने बताएका थिए ।
उनले २०३० साल देखी १० बर्ष मदन भण्डारीसँगका पलहरू स्मरण गरेका थिए । विचारले नेकपा एस निकै सानो भएको हुँदा आफूले त्यो पार्टी छोडेको बताइन् ।
कार्यक्रममा धारणा राख्दै केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरिशंकर योगीले २०३६ सालमाको आन्दोलन स्मरण गरेका थिए । उनले मनमोहन अधिकारीले भिमदत्त पन्तको श्रीमती पार्वती पन्तलाई भेट्न गएको, आफ्नो घरमा बसेको र भेट्न नपाएको विषय सुनाएका थिए ।
केन्द्रीय सल्लाहकार सदस्य महेश्वर पाठकले कैलालीमा एमालेको पुरानो गौरवमय इतिहास सुनाएका थिए । उनले मदन भण्डारी अहिले सम्म रहेको भए यस्तो गुटबन्दी नहुने बताएका थिए ।केन्द्रीय अनुशासन आयोगका सदस्य दीपक देवकोटाले पनि एमाले बलियो बनाउन सबै नेता कार्यकर्ताहरू सक्रिय हुन हुन आवश्यक रहेको बताएका थिए । उनले पहिलो पटक कैलाली जिल्ला कमिटीले गरेको कामले एमालेका पुराना नेता कार्यकर्ताहरू पनि उत्साहित भएको बताए ।
