धनगढी २ जेठ/नेपाल पत्रकार महासंघले नैतिक आचारणमा प्रश्न उठाउदै नयाँ सदस्यता नदिएपछि पत्रकार हिमेश बिकले महासंघको जिल्ला र प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् ।
पत्रकार महासंघले नैतिक आचारण नभएको भन्दै नयाँ सदस्यता नदिने निर्णय गरेका कारण महासंघको कैलाली शाखा र सुदूरपश्चिम प्रदेश समितिको कार्यालय धनगढीमा तालाबन्दी गरिएको बिकले बताए ।पत्रकार महासंघको सदस्यताका लागि बारम्बार गुहार गरेको बताउँदै बिकले महासंघले नैतिक आचरण नभएको भनी नदिने निर्णय गरेका कारण बाध्य भएर तालाबन्दी गरिएको उनी बताउँछन् ।
‘पत्रकार महासंघको केन्द्रले नैतिक आचरण नभएको कुरा गर्दै सदस्यता नदिने कुरा गरेको छ । नैतिक आचरण भनेको के हो ?,’ बिकले भने, ‘यो मान्छे बदमास, चोर डाका हो । बलात्कारी हो भने अदालतले ठहर गर्नुपर्यो नी । मलाई नैतिक आचरण नभएको कसरी भनियो ? जिल्ला, प्रदेश र केन्द्रले विज्ञप्ती जारी गरि खण्डन गर्नुपर्छ ।’
बिकले आफू पत्रकारितामा क्रियाशिल भएकोले महासंघको सदस्यता पाउनुपर्ने समेत माग गरेका छन् । विज्ञप्तीमार्फत खण्डन र नयाँ सदस्यता नदिएको अवस्थामा पत्रकार महासंघमा लगाइएको तालाबन्दी कायमै राख्ने बिकले बताए ।