धनगढी २१ बैशाख/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी विश्वासको मत पाउने अवस्था नभएपछि प्रदेश सभाको बैठक स्थगित गरिएको छ । मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रायोजनको लागि शुक्रबार बोलाइएको बैठक स्थगित गरिएको हो ।
सभामुख भीमबहादुर भण्डारीले भने, ‘प्राविधिक कारण आजको प्रदेश सभाको बैठक हुँदैन । भोलिसम्म हुने सम्भावना देखिन्छ । जुनकारण आज प्रदेश सभाको बैठक स्थगित भएको छ ।’एमाले विश्वासको मतको लागि हतारोमा बैठक आह्वान गरिएकोले तत्काल मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन नसक्ने अडानमा बसेको छ । एमालेले विश्वासको मत नदिएको अवस्थामा बहुमत नपुग्ने भएपछि विश्वासको मतको लागि शुक्रबार आह्वान गरिएको बैठक स्थगित गरिएको हो ।
एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले पनि शुक्रबार विश्वासको मत नदिने स्पष्ट पारे । संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले मुख्यमन्त्री सोडारीले हतारमा सल्लाह नगरेर विश्वासको मत लिन खोजेको भन्दै विश्वासको मत नदिने बताएका हुन् ।