धनगढी, २१ बैशाख/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् । १८ गते नै उनले सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतको लागि २१ गते प्रदेश सभा बैठक आह्वान गर्न भन्दै पत्र पठाइसकेका थिए । सोही सूचनाको आधारमा शुक्रबार प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
शुक्रबार बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरिएको छ । ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र ५ बजे मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले जानकारी दिए ।
‘मुख्यमन्त्रीले विश्वासको मत लिने सम्पूर्ण तयारी गर्नुभएको छ’, उनले भने, ‘बिहान कार्य व्यवस्था परामर्शको बैठक बस्छ । पाँच बजे विश्वासको मत लिनुहुन्छ र पाउनुहुन्छ ।’ दिउँसो नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक राखेर मुख्यमन्त्री सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने समेत तयारी भएको बताए ।
यता माओवादी केन्द्रले पनि ११ बजे संसदीय दलको बैठक राखेर मुख्यमन्त्री सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने तयारी भएको माओवादी संसदीय दलका नेता मानबहादुर धामीले बताए । ‘हामी विश्वासको मत दिने तयारीमा छौँ ११ बजे संसदीय दलको बैठक बसेर विश्वासको मत दिने गरि ह्विप जारी गर्छौ’ उनले भने ‘सत्ता गठबन्धनमा विश्वासको मत दिने समझदारी भएको छ ।’
केन्द्रमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने छलफल भएको समेत बताईएको छ । एमाले नेताहरू पनि शुक्रवार विश्वासको मत दिने गरि केन्द्रबाट त्यस्तो कुनै निर्णय नआएको बताउँछन् । ‘हामीले विश्वासको मत नदिने भनेका छैनौँ’ एमाले संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले भनिन्, ‘हामी छलफल गर्छौ । विश्वासको मत नदिने भन्ने होइन तर, २१ गते नै दिने सम्भावना भने छैन ।’ एमाले संसदीय दलका नेता तथा सदस्यहरू पनि २१ गते पछि मात्र विश्वासको मतका बिषयमा निर्णय हुने बताउँछन् ।
एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले बझाङ प्रदेशसभा सदस्यका लागि वैशाख १५ मा भएको उपनिर्वाचनमा एकीकृत समाजवादीले सहमति विपरीत एमाले उम्मेदवार हराउन लागि परेकाले सुदूरपश्चिम सरकारबारे सोच्नुपर्ने अवस्था आएको बताए । एमाले अन्य सांसदहरूले पनि शुक्रवार नै विश्वासको मत दिने सम्भावना नरहेको बताउँछन् । स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत विश्वासको मतका लागि अहिले नै हतार नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । हामी विश्वासको मत दिँदैनौँ रेशम पक्षका संसदीय दलका नेता घनश्याम चौधरीले भने । यता रन्जिता श्रेष्ठ पक्षका दुई सांसद भने विश्वासको मत दिने तयारीमा छन् ।उनीहरु दुबै जना प्रदेश सरकारमा सहभागी छन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन बहुमत अर्थात् २७ सांसद आवश्यक पर्छ । एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ । तर, एमालेले समाचार तयार पार्दा सम्म विश्वासको मत दिने विषयमा ठोस निर्णय गरेको छैन ।
वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीलाई जेठ ५ गते सम्मको समय छ । एमालेले अझै समय बाकी रहेको हुँदा हतार नगर्न मुख्यमन्त्रीलाई सुझाब दिएको छ । बझाङ बाट निर्वाचित दमन भण्डारीले पनि अझै शपथ लिएका छैनन् । एमालेले उनको सपथ ग्रहण पछि मात्रै विश्वासको मतको विषयमा छलफल हुने बताएको छ । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने बताएको छ । असंवैधानिक ढंगले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने निर्णय गरेको छ ।
आज संसदीय दलको बैठकले सदन अवरोध गर्ने निर्णय गरेको निवर्तमान मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले जानकारी दिए । सोडारीको नियुक्ति नै असंवैधानिक छ । जसको विरुद्धमा हामी न्यायालयमा पनि गइसकेको अवस्था हो । उहाँको नियुक्ति नै असंवैधानिक रहेकोले हामी संसदमा विरोध गर्छौं उनले भनेका छन् ।