धनगढी २० बैशाख/सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाइएको छ ।मुख्यमन्त्रीको विश्वासको मतका लागि २१ वैशाख साँझ ५ बजे बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी ६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।सोडारी नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
उता नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने चेतावनी दिएको छ । असंवैधानिक ढंगले सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने चेतावनी दिएको हो ।
निवर्तमान मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले भने, ‘उहाँको (सोडारी) नियुक्ति नै असंवैधानिक छ । जसको विरुद्धमा हामी न्यायालयमा पनि गइसकेको अवस्था हो । उहाँको नियुक्ति नै असंवैधानिक रहेकोले हामी संसदमा विरोध गर्छौं ।’ त्यस्तै नेता शाहले मुख्यमन्त्री सोडारीलाई कांग्रेसले पनि सहयोग गर्छ भन्ने भ्रम सिर्जना भइरहेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे ।
उनले भने, ‘उनले विश्वासको मत पाउने, नपाउने आफ्नो ठाउँमा छ । तर हामी विधि पद्धति तथा संविधानको मर्म र पक्षमा छौँ । त्यसप्रति प्रतिवद्ध पनि छौँ । गलत नजीरको विरुद्धमा हामी छौँ ।’प्रदेशसभा सचिवालयले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रायोजनका लागि प्रदेशसभा बैठक समेत बोलाएको छ ।