धनगढी,१४ वैशाख / बैतडीको दशरथ चन्द नगरपालिका २ का देहिमाण्डौंका स्थानीय रित्तो गाग्रीसहित आन्दोलनमा उत्रिएका छन् । वर्षौँदेखि देहिमाण्डौं बजार क्षेत्रमा खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरूले आफ्नो समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षणका लागि रित्तो गाग्री सहित आन्दोलनमा उत्रिएका हुन ।
समस्या समाधानका लागि सम्बन्धित निकायले आश्वासन मात्रै बाँडेको भन्दै रित्तो गाग्री, बाल्टिन, जर्किन जस्ता पानी थाप्ने भाडासहित आन्दोलनमा उत्रिएका देहिमाण्डौंका स्थानीय युवा गोल्डेन बोहरा तुफानले बताए । पानीको समस्या भोग्दै आएका स्थानीयहरूले वडा कार्यालयको गेटमा बिहीबार बिहान रित्तो गाग्री राखेर दबाब दिएका हुन । विशेष गरी सबैभन्दा धेरै देहिमाण्डौं बजारका स्थानीयहरूलाई पिउने पानीको चरम समस्या परेको छ ।
गाउँ क्षेत्रमा पानीको समस्या भएको वर्षौँ बितिसकेको भए पनि खानेपानीको उचित मुहान नहुँदा समस्या समाधानमा चुकेको दशरथ चन्द नगरपालिका वडा न। दुई का वडा अध्यक्ष सूर्य बोहराले बताए । खानेपानि समेत नभएपछि यहाँका स्थानीय एक गाग्री पिउने पानीका लागी खोला खोल्सा धाउन बाध्य छन् । तर पछिल्लो समयमा लामो खडेरीका कारण पानीका मुहानसमेत सुक्न थालेपछि आफूहरू झनै समस्यामा परेको बोहराले बताए ।
बजार क्षेत्रलगायत सबै ग्रामीण क्षेत्रमा पिउने पानीको निकै समस्या रहेको छ । नगरपालिका र वडाले सबै किसिमको सेवा बापतको शुल्क लिने गरेको तर सेवा भने दिन नसकेको आरोप खाने पानीको चरम समस्या भोग्दै आएका स्थानीयहरूले लगाएका छन् । पटक पटक पिउने पानीको व्यवस्थापनका लागी आग्रह गर्दा समेत बेवास्ता गरेकोले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको स्थानीय युवा गोल्डेन बोहराले बताए ।