धनगढी, ५ बैशाख/सत्ता साझेदार नेकपा एमालेले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीलाई स्वीकार गर्न नसक्ने अडान लिएपछि सुदूरपश्चिमको सत्ता राजनीति थप पेचिलो बनेको छ। एमालेको अडानका कारण मुख्यमन्त्रीमा अहिलेसम्म दाबी पेस हुन सकेको छैन।
सो प्रदेशमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीबीच वैशाख ४ गते दिउँसो समझदारी जुटेको थियो।तर राति १० बजेपछि एमालेले बोली फेरेको माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता मानबहादुर धामीले गुनासो गरे।
‘सहमति एकीकृत समाजवादीलाई दिने भनेरै उहाँ (दीर्घ सोडारी) ले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन गर्नुभएको समर्थन फिर्ता लिनुभएको हो। नेकपा एमालेका साथीहरुले त्यत्तिकै अत्तो थापिरहेका छन्,’ धामीले सँग भने, ‘एमालेले गठबन्धनलाई कसरी अगाडि बढाउँछ उसको हातमा छ।’
‘‘दीर्घ सोडारी बाहेकका पात्र हुनुपर्ने एमालेको भनाई आएको छ,सहमति भएको कुरा कार्यान्वयन नगरेर व्यक्तिका कुरा गर्नु उचित होइन, यद्यपि, कहिँ समस्या हुनसक्छन्, त्यसलाई लिएर राष्ट्रिय र प्रदेशमै उल्झन हाल्नु राजनीतिक विषय होइन।’