धनगढी,३ वैशाख / कैलालीको गोदावरी नगरपालिकाको कक्षा ८ मा ४३.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । आइतबार सार्वजनिक गरिएको नगर स्तरीय आधारभूत तहको परीक्षामा २ हजार ६२७ विद्यार्थी सहभागी भएकोमा १ हजार १४५ विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन ।
एक विद्यालयको नतिजा भने निल आएको छ । गोदावरी नगरपालिका – १२ मा रहेको जनप्रभात माविको नतिजा निल आएको हो ।
उक्त विद्यालयबाट २२ जना विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी भएका थिए । जसमा सामुदायिक तर्फ ३०.३५ र संस्थागत तर्फ ६५.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गोदावरीमा २९ सामुदायिक र २८ वटा संस्थागत विद्यालय रहेका छन् । ग्रेडिङ सिस्टममा नतिजा प्रकाशन गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले बताएका छन् । उनले कुन विद्यालयमा कति विद्यार्थी उत्तीर्ण भन्ने बारेमा भने जानकारी दिन नमिल्ने बताए । नगरपालिकामा गत वर्ष ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।