धनगढी, २ बैशाख/सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्ति विषयमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) पार्टी असन्तुष्ट बनेको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसले दाबी गरिरहेका बेला नागरिक उन्मुक्ति पार्टीलाई सुरुमा दिएपछि एस पार्टी असन्तुष्ट बनेको हो।
नेकपा एसका एक नेताका अनुसार आज बिहान बसेको सत्ता गठबन्धन दलको बैठकमा नाउपालाई सुरुको दुई वर्षको कार्यकाल मुख्यमन्त्री दिने सहमतिमा एसका अध्यक्ष माधवकुमार नेपालले असहमति प्रकट गरेका थिए।
सुरुको कार्यकाल एसले लिने र त्यसपछि नाउपालाई दिन आफू तयार रहेको बताएका थिए। तर प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले नमानेपछि अध्यक्ष नेपालले आफूहरूलाई धोका महसुस भएको भन्दै असहमति प्रकट गरेका थिए।उनले असहमति प्रकट गरेर हिँडेपछि बालुवाटारमा नाउपासँग सहमति भएको स्रोतले जनाएको छ।