धनगढी, ३० चैत/बझाङ प्रदेशसभा (१) को उपनिर्वाचनलाई लिएर मुख्य दलका केन्द्रीय स्तरका नेताहरू बझाङ पुग्ने क्रम बढेको छ । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउनका लागि अहिले कांग्रेस, एमाले र माओवादीका केन्द्रीय स्तरका नेता बझाङ पुगिरहेका हुन् ।
नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत असारमा सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि चाहिने अंकगणितमा बझाङबाट जित्ने प्रदेश सभा सदस्यले महत्त्व राख्ने भएकाले दलहरूले उपनिर्वाचनलाई महत्त्वका साथ हेरेको बताएका छन् ।
कांग्रेसले स्वर्गीय सांसद सिंहका छोरा अभिषेकबहादुर सिंह, एमालेले दमन भण्डारी र माओवादी केन्द्रले जनक बुढालाई आ–आफ्ना उम्मेदवारका रूपमा मैदानमा उतारेका छन् । आफ्ना उम्मेदवारलाई जिताउन कांग्रेसका केन्द्रीय सदस्य रणबहादुर रावल मनोनयनदेखि नै बझाङमा खटिएका छन् । उनलाई पार्टीले बझाङ इन्चार्जको जिम्मा पनि दिएको छ । पूर्वपरराष्ट्र मन्त्री एनपी साउद, पूर्वमन्त्री गोविन्दबहादर शाह, कांग्रेस केन्द्रीय सदस्य एवं धनगढी उपमहानगरपालिकाका पूर्वमेयर नृप ओड लगायत नेता पनि बुधबार बझाङ आइपुगेका छन् ।
केही दिनभित्र बद्री पाण्डे, प्रदीप पौडेल, उमेशजंग रायमाझीलगायतका नेता पनि बझाङ आउने कार्यक्रम रहेको इन्चार्ज रावलले बताए । एमालेले आफ्ना उम्मेदवारलाई जिताउन केन्द्रीय नेताहरूलाई मनोनयनअघिदेखि नै बझाङमा सक्रिय बनाएको छ । एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री कर्णबहादुर थापा, एमाले पोलिटव्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, केन्द्रीय सदस्य एवं पूर्व संविधानसभा सदस्य अफिलाल ओखेडा, प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी लगायतका नेता बझाङमा आफ्ना उम्मेदवारलाई जिताउन दौडधूप गरिरहेका छन् ।
केन्द्रीय स्तरका अन्य नेता पनि आउने क्रम जारी रहेको एमालेले जनाएको छ ।सत्ता गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेल आफ्नो दलका उम्मेदवार जनक बुढाको पक्षमा जनमत सिर्जना गर्न बझाङमा खटिएका छन् । पोखरेलसँगै केन्द्रीय सदस्य ओमप्रकाश पुन पनि घरदैलो अभियानमा सक्रिय छन् । अरू केही केन्द्रीय स्तरका नेताहरू पनि आफूलाई सघाउन आउने तयारीमा रहेको माओवादी उम्मेदवार बुढाले बताए ।यता नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व संविधानसभा सदस्य अफिलाल ओखेडाले आफ्ना उम्मेदवारले जित्ने दाबी गर्दै एमालेको पक्षमा जनलहर देखिएको बताए ।
यस्तै माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले आफू बझाङी जनताका हरेक सवालसँग जोडिएको र सबैभन्दा बलियो उम्मेदवार आफू रहेको बताए । गत निर्वाचनमा यहाँ काङग्रेस, माओवादी र समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए । गठबन्धनका तर्फबाट उम्मेदवार रहेका स्वर्गीय सिंहले १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।