धनगढी, २२ चैत / सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहिवार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक स्थगित गरिएको हो।
प्रदेश सभा सचिवालयका अनुसार बिहिवार साँझ ५ बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको छ। माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले प्रदेश सभाबाट विश्वासको मत फेरि लिनुपर्ने भएको हो।
अल्पमतमा रहेका मुख्यमन्त्री शाह विश्वासको मत अगाडि आफ्नो पक्षमा मत दिनका लागि अन्तिम कसरत गरिरहेका छन्। उनले राप्रपालाई मनाइ रहेको बुझिएको छ। राप्रपाले भने सरकारमा सहभागि नहुने निर्णय गरेको छ। नागरिक उन्मुक्ति पार्टी, राप्रपा र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको मत पाउने आशामा मुख्यमन्त्री शाह रहेका छन्। यद्यपि, सत्तारूढ दल नागरिक उन्मुक्ति पार्टीमा पनि विभाजन देखा परेकाले उन्मुक्तिकै केही सदस्यबाट मुख्यमन्त्री शाहले मत पाउन नसक्ने सम्भावना पनि देखिएको छ।
सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्। सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ।
