धनगढी, १६चैत/कैलालीको सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय विरुद्धमा जारी भएको स्टे अडर बदर भएको छ। जिल्ला अदालत, कैलालीले जारी गरेको स्टे अडर बदर भएको हो।
जिल्ला अदालत, कैलालीका स्रेस्तेदार मानबहादुर विष्टले स्टे अडर बुधवार बदर भएको बताए। उनले भने, ‘सुरुको स्टे अडर अल्पकालीन थियो। अहिले बदर गरिएको हो। विद्यालयले गर्न खोजेको काम गर्न सक्छ। कुनै कानुनी समस्या छैन।’
जिल्ला अदालत, कैलालीले राष्ट्रिय माध्यमिक विद्यालय, सुखडको जग्गा अधिक्रमण गरेर निर्माण गरेका संरचना हटाउन बाटो खुल्ला गरेको हो। विद्यालयले भोलिबाट अतिक्रमण गरेर निर्माण गरिएका संरचनामा डोजर चलाउने भएको छ। विद्यालयको कित्ता नम्बर ९७ भित्र रहेका संरचनाहरूमा डोजर चलाउने तयारी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले बताए।
घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले अस्थायी घर टहरा हटाउन तीन दिनको सूचनासमेत सार्वजनिक गरेको छ। बिहिवार विद्यालयले तीन दिनको समय दिदै सूचना सार्वजनिक गरेको हो। तर, अतिक्रमणकारीहरू विद्यालयलाई समय माग गर्ने र आफू उच्च अदालत जाने तयारीमा रहेका छन्। विद्यालयको जग्गामा घर–टहरा निर्माण गरेकाहरू उच्च अदालत जाने तयारीमा रहेकाले विद्यालयले शनिवार बिहान ८ बजेदेखि नगरपालिका र जिल्ला प्रशासन कार्यालय, कैलालीको सहयोगमा डोजर चलाउने भएको हो।
विद्यालयले स्रेस्ता नम्बर ९७ मा रहेको ८ कट्ठा जग्गा शनिवार खाली गर्दै छ। विद्यालयको नाममा दर्ता स्रेस्ता कायम भएको कित्ता नम्बर ९७ मा रहेको ८ कट्ठा जग्गा खाली गराउन अन्तिम पटकका लागि फागुन १४ गते ७ दिने सूचना जारी गरेको थियो। तर, अतिक्रमणकारीहरूले अदालतबाट स्टे अडर ल्याएका थिए।
विद्यालयको उक्त जग्गामा नमुना विशेष आवासीय विद्यालयको भवन निर्माण गर्ने योजना छ। उक्त क्षेत्रमा छात्रावासका २ वटा भवन, चमेनागृह र थेरापी भवन निर्माण हुने छ। सङ्घीय सरकारले २०७६र०७७ मा नै भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो।