धनगढी १४ चैत/ नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संस्थापक केन्द्रीय समितिको संघ र प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेका बेला सुदूरपश्चिम प्रदेश संसदीय दलले भने उक्त निर्णय अस्वीकार गर्ने भएको छ ।
प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन कायमै रहेको बताउँदै संस्थापक केन्द्रीय कमिटिको निर्णय स्वीकार नहुने बताएका हुन् । चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरी जापानबाट फर्किएपछि मात्र पार्टीले सरकारबारे निर्णय लिने बताए ।
“पार्टीका संरक्षक बिना बसेको अल्पमतको बैठकले गरेको निर्णय कसरी मान्ने ?” चौधरीले भने, “उहाँ (रेशम) जापानबाट फर्किएपछि सरकारका विषयमा निर्णय हुन्छ । अहिले यहीँ सरकारलाई हाम्रो समर्थन रहन्छ ।”रेशम चौधरी अहिले जापानमा रहेका बेला उनकी पत्नि समेत रहेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले संघ र प्रदेशमा एमाले-माओवादी-रास्वपासहितको गठबन्धन सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । २१ जना केन्द्रीय सदस्य मध्ये बुधबारको बैठकमा १२ जनाको उपस्थिति रहेको बताइएको छ ।
यसअघि रेशम चौधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यहरूले ज्येष्ठ सदस्य दामोदर पण्डितको अध्यक्षतामा बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसपछि अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेकी थिइन् । उक्त निर्णयपछि रेशमले रञ्नितालाई सम्झाउन नसकिएको बताएका थिए ।
सुदूरपश्चिममा सरकार निर्माणमा निर्णायक भूमिकामा रहेको नाउपाबाट मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पक्षमा बहुमत पुगाउन राज्यमन्त्रीसहित ५ जनालाई मन्त्री बनाएका छन् । नाउपाका ७ प्रदेशसभा सदस्य छन् । कैलाश चौधरी र टीका थापा मात्र सरकार बाहिर छन् । मुख्यमन्त्री शाहलाई अहिले कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ सांसदको समर्थन छ । राप्रपा र स्वतन्त्र सांसदको समेत समर्थन लिएर शाहले बहुमत २७ सांसद जुटाउने प्रयास गरेका छन् । तर नाउपाको किचलोका कारण भने उनलाई समस्या पर्ने देखिएको छ ।