धनगढी ४ चैत/नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेशसभा सदस्यले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेका छन् ।आइतबार प्रदेशसभास्थित संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको बहुमत पाँच जना प्रदेशसभा सदस्यले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
बैठकमा नाउपाका कैलाश चौधरी र टीका थापा सहभागी थिएनन् । उनीहरू बाहेक सरकारमा सहभागी राज्यमन्त्रीसहित पाँच जना मन्त्रीको बैठकमा थिए ।बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीले अहिलेको सरकारलाई नै समर्थन कायम राख्ने र चाडै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताए ।
बैठकमा सहभागी नभएका प्रदेशसभा सदस्यहरूलाई समेत सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको दाबी गरे । केन्द्रमा नयाँ गठबन्धनमा सामेल भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिएका बेला प्रदेशमा छुट्टै समीकरण बनाएर नयाँ सन्देश खोजिएको उनी बताउँछन् । नाउपाले मुख्यमन्त्रीलाई समर्थन कायमै रखेपनि उनीसँग कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ जना मात्र पुग्छन् । राप्रपाकि खेमादेवी बिष्ट र स्वतन्त्र सांसद डा।ताराप्रसाद जोशीले समर्थन गरे मात्र शाहलाई आवश्यक पर्ने बहुमत सांसद २७ पुग्छन् ।
संघमा राजनीतिक समीकरण फेरिएसँगै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादील पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका थिए ।नाउपाले समर्थन फिर्ता नलिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुगाउने प्रयास अन्तरगत उक्त पार्टीबाट राज्यमन्त्रीसहित चार जनालाई मन्त्री बनाएका थिए ।
चार जना मन्त्री थपेपनि उनलाई राप्रपा र स्वतन्त्र सांसदले समर्थन नगरेका कारण अहिले २५ जना सांसद मात्र उनको पक्षमा छन् ।नाउपामा सरकार विस्तारको विषयलाई लिएर संस्थापक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद भएको थियो ।श्रेष्ठले सरकारबाट तत्काल फिर्ता हुन निर्देशन दिएपनि चौधरीले समर्थन कायमै रहेको बताएका थिए ।
विवादकैबीच नाउपाका बहुमत संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका बेला अध्यक्ष श्रेष्ठले भने ह्वीप जारी गर्दै विश्वासको मत दिएकी थिइन् ।