कैलाली, २ चैत / कञ्चनपुर कृष्णपुर नगरपालिकामा चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक पानीपिच गरिदैं छ । नगरपालिकाले आफैले निर्माण सामग्री खरिद गरेर सडक पानीपिच गर्न लागेको हो । नगरपालिकाका ९ वटै वडामा ४५ किलोमिटर सडक पानीपिच गर्नका लागि डेढ करोड बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख हेमराज ओझाले ठेक्का या उपभोक्ता समिति मार्फत काम गर्दा बजेटको दुरुपयोग हुन थालेपछि नगरपालिकाले आफैले निर्माण सामग्री खरिद गरेर सडक पानीपिच गर्न थालेको बताए ।
उनले ठूलो भूगोल भएको कृष्णपुरमा नगरको बजेटले सडक कालोपत्रे मात्रै गर्दा वर्षौ सम्म पनि पिच नहुने देखिएकाले जनतालाई सहजताहोस भनेर सबैठाउँमा एकै पटक सडक पानी पिच गर्न लागिएको बताए । नगरपालिकाले आफैले सडक पानीपिच गर्दा थोरै बजेटमा पनि धेरै काम भएको उनको भनाइ छ ।
नगरप्रमुख ओझाले आफ्नो कार्यकालमा सबै वडाका सडक स्तरोन्नती गर्ने उद्देश्यका साथ काम अगाडि बढाइरहेको बताए । नगरपालिकाले सडक कालोपत्रे गर्नको लागि पनि चालु आर्थिक वर्षमा प्रत्येक वडामा ४०/४० लाखका दरले बजेट विनियोजन गरेको जनाएको छ ।
सार्वजनि सेवा तथा क्षमता विकास समितिका संयोजक तथा वडा नम्बर ९ का अध्यक्ष कैलाश बहादुर बलायरले काम अनुगमन रेखदेख गर्नको लागि प्राविधिक र जनप्रतिनिधि खटाइएको बताए । उनले सडक पानीपिच अभियान अन्तरगत बाटोको चौडाई पनि विस्तार गरिरहेको बताए ।
नगरपालिकाले हाल सडक पानीपिच तथा मर्मत गर्नको लागि ग्रेडर, लोडर, २ वटा जेसीवी, २ वटा टिप्पर र २ वटा ट्याक्टर खरिद गरेको जनाएको छ ।